२७ भदौ, काठमाडौँ । प्रत्येक वर्ष सेप्टेम्बर १० का दिन मनाइने आत्महत्या रोकथाम दिवस भर्खरै मात्र सम्पन्न भएको छ । विश्वभर आत्महत्या रोकथाम विभिन्न जनचेतनामुलक कार्यक्रमहरु गरी मनाउँदै आइएको छ । यसको सुरुवात सन् २००३ मा आत्महत्या रोकथामका लागि अन्तराष्ट्रिय संगठन (International Association for suicide Prevention (IASP) ले विश्व स्वास्थ्य संगठनसँगको सहकार्यमा सुरुवात गरेको थियो । यस दिवसको मुख्य उदेश्य आत्महत्या रोकथामका लागि सचेतना अभिवृद्धि, यससँग सम्बन्धित लाञ्छाना न्यूनिकरण र विश्वव्यापि रुपमा आत्महत्या रोकथामका लागि भएका कार्यहरुलाई प्रोत्साहन गर्न रहेको छ । नेपालमा पनि हरेक वर्ष आत्महत्या रोकथाम दिवस मनाउदै आइएको छ ।
यस वर्ष “आत्महत्या बारे संवाद सुरु गरौँ; दृष्टिकोण बदलौँ” भन्ने नारा सहित विभिन्न कार्यक्रम गरेर यो दिवस मनाइयो ।
विश्वमा मृत्युको २० प्रमुख कारणहरु मध्ये आत्महत्या पनि एक मुख्य कारण हो । विश्वमा हरेक वर्ष करिव ७ लाख व्यक्तिहरुले आत्महत्याको कारणले ज्यान गुमाउने गरेका छन् । हरेक ४० सेकेन्डमा १ जनाले आत्महत्याको कारणले मृत्यू हुने गरेको छ । प्रत्येक आत्महत्याबाट आत्महत्या गर्ने मानिसको ज्यान गुम्ने मात्र नभइ सो व्यक्तिसँग सम्बन्धित १३५ जनालाई पनि आघात पुग्ने तथ्यांक अध्ययनमा पाईएको छ । नेपाल प्रहरीको तथ्याङ्कलाई आधार मान्दा हरेक वर्ष आत्महत्याको दर बढ्दै गरेको देखिन्छ । आर्थिक वर्ष २०८०/०८१ मा ७२२३ जनाले आत्महत्याको कारणले ज्यान गुमाएको देखिएको छ । जस अनुसार नेपालमा हरेक दिन लगभग २० जना व्यक्तिहरुले आत्महत्याको कारणले ज्यान गुमाइरहेको देखिएको छ ।
दिगो बिकास लक्ष्यमा आत्महत्याको दरलाई न्यूनीकरण गरी सुस्वास्थ्य प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ । तत्कालिन समय सन् २०१५ मा १६.५ जना प्रति १००,००० नेपालीमा रहेको आत्महत्याको दरलाई सन् २०२२ मा ९.७ मा घटाउदै सन् २०३० सम्ममा ४.७ प्रति १००,००० नेपालीमा झार्ने महत्वकांक्षी लक्ष्य लिईएको छ । हालको तथ्यांकमा सुधार ल्याउन बहुपक्षीय सहकार्य अनिवार्य देखिएको छ ।
आत्महत्याको कारण बहुआयामिक हुन्छ । यद्यपी आत्महत्याको सम्बन्ध मानसिक स्वास्थ्य समस्यासँग रहेको पाइन्छ । आत्महत्या गर्ने ६८५ व्यक्तिमा मानसिक स्वास्थ्य समस्या भएको तथ्य अनुसन्धानले देखाएको छ । मानसिक रोगमा जस्तै उदासिनताको रोग (डिप्रेसन) सबै भन्दा प्रमुख कारण हो । विगतमा आत्महत्याको प्रयास गरेको मानिसहरुले आत्महत्या दोहोर्याउने सम्भावना अन्य व्यक्तिहरुको तुलनामा धेरै हुन्छ । साथै लगातार जीवनप्रति नैराश्यता अनुभव गर्ने मानिसहरु र युद्ध, हिंसा, आघातजन्य घटना, लाञ्छना वा भेदभाव अनुभव गरेको व्यक्तिहरुमा आत्महत्या गर्ने सम्भावना बढि छ ।
बहुपक्षिय निकायहरुको संयुक्त प्रयत्नबाट आत्महत्याका घटनाहरु न्यूनिकरण गर्न सम्भव हुन्छ । मानसिक रोगको उपचार गर्नाले पनि धेरै मात्रामा आत्महत्या रोकथाम हुन्छ । नेपाल सरकारले आत्महत्या न्यूनिकरणका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।
आत्महत्या रोकथामका लागि २४ सै घण्टा निशुल्क परामर्श दिन राष्ट्रिय हेल्पलाईन ११६६ सञ्चालनमा रहेको छ ।
राष्ट्रिय मानसिक स्वास्थ्य रणनिती तथा कार्ययोजना २०७७ ले पनि मानसिक स्वास्थ्यका लागि तिनै तहका सरकारहरुको भूमिकालाई स्पष्ट पारेको छ । मानसिक स्वास्थ्य सेवाको कार्यक्रमहरुलाई विस्तार गर्न सरकारले महत्वपूर्ण कदम लिरहेको छ।आत्महत्याको लागि प्रयोग हुनसक्ने हानीकारक विषादीको पैठारी र प्रयोगमा प्रतिबन्ध लगाउने, आत्महत्या सम्बन्धी घटनाको जिम्मेवार समाचार सम्प्रेक्षण निर्देशिका जारी गर्ने साथै बालबालिका तथा किशोर किशोरीको सामाजिक, भावनात्मक सिकाईका मोड्युलहरु तयार गरी कार्यान्वयन गरिएका छन् ।
आत्महत्या रोकथाम हामी सबैको दायित्व हो, त्यसैले आत्महत्या रोकथामको लागि हामी सबैको भूमिका धेरै महत्वपूर्ण हुन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आत्महत्या रोकथाममा देहायका भूमिकालाई सुझाएको छ ।
आत्महत्या रोकथाममा साथीको भूमिका
- साथीलाई एकलै नछाड्ने र आवश्यक सहयोग गर्ने ।
- उदासी व्यवहार बारेमा सोध्ने ।
- साथीले सहयोग लिन नमानेको खण्डमा उसले कुरा सुन्ने अथवा सहयोग लिन चाहने आफन्त, दाजुभाई, साथिभाई वा अभिभावकलाई जानकारी दिने ।
- साथीका कुराहरुलाई गोपनियता राख्दै समानुभूतिका साथ कुराकानी गर्ने र साथीको आत्महत्याको सोच या योजना भएको बताएमा आफू भन्दा ठूलो मान्छे, अभिभाबक, शिक्षकको सहयोग लिने ।
विद्यालय तथा विद्यालयको शिक्षकको भूमिका
- विद्यार्थीहरुलाई निर्धक्क संग भावना ब्यक्त गर्ने वातावरण बनाउने ।
- आत्महत्याको जोखिम देखिएका विद्यार्थीलाइ एक्लै नछोड्ने ।
- विद्यार्थीको नाम ठेगाना र अभिभावकलाई सम्पर्क गर्न सकिने सम्पर्क नम्बर थाहापाई राख्ने ।
- विद्यार्थीले व्यक्त गरेको कुरालाई वेवास्ता नगर्ने ।
- तालिम प्राप्त मनोविमर्शकर्तासंग सम्पर्क राख्ने ।
- विद्यार्थीहरुलाई समयसमयमा मनोसामाजिक समस्या र यसको व्यवस्थापन सम्बन्धि चेतना मुलक कार्यक्रम संचालन गर्ने ।
आत्महत्या रोकथाममा समुदायको भूमिका
- सम्मानपूर्वक व्यवहार गर्ने ।
- उपनाम वा मानसिक रोगीको संज्ञा नदिने ।
- सहयोगी भावना विकास गर्ने र आत्मसम्मानको भावना जगाउन सहयोग गर्ने ।
- व्यक्तिको समास्याको बारेमा सम्बन्धित निकायमा खबर दिने ।
आत्महत्या रोकथाममा मिडियाको भूमिका
- सहयोग पाउन सकिने ठाउँ बारे सही सूचना दिने आत्महत्या र आत्महत्या रोकथामको बारेमा गलत धारणा नबढाइ जनचेतना जगाउने ।
- जीवनका तनावहरू वा आत्महत्याका सोचाइसँग कसरी सामना गर्ने र सहयोग कसरी लिन सकिन्छ भन्ने जस्ता कथाहरू सम्प्रेषण ।
- प्रख्यात व्यक्तित्वहरूको आत्महत्या बारे समाचार सम्पे्रषण गर्दा सावधानी अपनाउने ।
- शोकाकुल परिवारजन तथा साथीसँग अन्तर्वार्ता लिँदा सावधानी अपनाउने ।
- आत्महत्या सम्बन्धी समाचारलाई केन्द्रबिन्दु नबनाउने र अनावश्यक रुपमा नदोहोराउने ।
- आत्महत्यालाई सनसनीपूर्ण वा सामान्यीकरण गर्ने भाषाको प्रयोग नगर्ने र त्यसलाई एक मात्र सही सामाधानको रुपमा चित्रण नगर्ने ।
- आत्महत्याको साधन र तरिकालाई व्याख्या नगर्ने ।
- आत्महत्या भएको स्थान बारे विस्तृत जानकारी नदिने ।
- सनसनीपूर्ण शीर्षक प्रयोग नगर्ने।
- फोटो, भिडियो वा डिजिटल लिंकको प्रयोग नगर्ने।