३० जेठ । नेपालमा पहिलो पटक लिक्विड अक्सिजन प्लान्ट निर्माण कार्य शुरू भएको छ । रुपन्देहीमा स्थापना गर्न लागिएको अक्सिजन प्लान्टको आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअलरूपमा शिलान्यास गरेका हुन् ।
करिब १ अरबको लगानीमा दैनिक ६० मेट्रिक टन अर्थात ७ हजार सिलिण्डर उत्पादन गर्ने लक्ष्यसहित प्लान्टको निर्माण शुरु गर्न लागिएको हो ।
शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोभिड १९ महामारीको दोस्रो लहर सुरू भएपछि अक्सिजनको तीव्र अभाव व्यहोरेको नेपालका लागि प्लान्टको स्थापना असाधारण खुसीको विषय भएको बताए ।
कम्पनीका प्रबन्धक शम्भु भण्डारीले करिब १ अर्ब लगानीमा संचालन गर्ने गरी प्लान्टको निर्माण शुरू गरिएको बताए ।
रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका–७ सिमरहवामा स्थापना हुने यो प्लान्ट १० महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
प्रतिदिन ६० मेट्रिक टन उत्पादन हुने सो प्लान्टबाट सात हजार ठूला सिलिण्डरमा अक्सिजन भर्न सकिनेछ ।
उद्योगी शंकर अग्रवालको लगानीमा निर्माण गर्न लागिएको सो प्लान्टबाट भारतमा समेत अक्सिजन पठाउने योजना रहेको छ ।