Nepal's Trusted Health Online Portal

नेपालबाट रूबेला निवारण भएको विश्व स्वास्थ्य संगठनको घोषणा

Get real time updates directly on you device, subscribe now.

२ भदौ, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपालको सार्वजनिक स्वास्थ्य समस्याका रुपमा रहेको रूबेला रोग निवारण भएको घोषणा गरेको छ ।

दादुरा जस्तै देखिने रूबेला अर्थात (German measles) एक अत्यन्तै संक्रामक भाइरल संक्रमण हो । यो विशेष गरी गर्भवती महिलामा गर्भपतन, मृत शिशु र आजीवन अशक्त जस्ता जन्मजात जटिलता ल्याउने संक्रामक रोग हो । तर, यसलाई सुरक्षित र किफायती खोपमार्फत पूर्ण रुपमा रोकथाम गर्न सकिन्छ ।

डब्लुएचओको क्षेत्रीय प्रमाणीकरण आयोग (SEA-RVC)ले २२ देखि २४ जुलाई २०२५ मा सम्पन्न आफ्नो वार्षिक बैठकमा नेपालको तथ्यांक समीक्षा गरी रूबेला अन्त्य प्रमाणित गर्न सिफारिस गरेको थियो ।

भुटान, DPR कोरिया, माल्दिभ्स, श्रीलंका र टिमोर–लेस्टेपछि नेपाल दक्षिण–पूर्व एशिया क्षेत्रमा रूबेला अन्त्य गर्ने छैठौँ राष्ट्र बनेको छ ।

विश्व स्वास्थ्य संगठनको दक्षिण–पूर्व एसिया क्षेत्रीय कार्यालयका कार्यवाहक प्रमुख डा. क्याथरिना बोहमले नेपालले प्राप्त गरको यो सफलता नेतृत्व तहको दृढ प्रतिबद्धता, स्वास्थ्यकर्मीहरुको लगनशिलता, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको निरन्तर सहयोग, स्वास्थ्यप्रतिको आमजनसमुदायको चासो र सहयोगको परिणाम भनेकी छिन् ।

उनले यस उपलब्धिले शिशुहरुका लागि स्वस्थ जीवनको सुरुवात र रूबेलामुक्त भविश्य सुनिश्चित गरेको बताएकी छिन् ।

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले क्षेत्रीय लक्ष्यभन्दा अगाडि रूबेला नियन्त्रण गर्नु राष्ट्रिय खोप कार्यक्रमको सफलताको अर्को प्रमाण भनेका छन् । उनले यस उपलब्धि हासिल गर्न योगदान पुर्‍याउने सम्पूर्ण नेतृत्वकर्ता, स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधी र समुदायलाई धन्यवाद व्यक्त गरेका छन् । नेपालको स्वास्थ्य क्षेत्रमा निरन्तर सहयोग पुर्‍याउँदै आएकोमा गाभी र डब्लुएचओप्रति कृतज्ञता व्यक्त गरेका छन् ।

त्यस्तै, विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालयका प्रमुख डा. राजेश सम्भाजिराव पाण्डवले रूबेला भाइरस निवारण गर्न सफल भएकोमा नेपाललाई बधाई दिएका छन् ।
यो जनस्वास्थ्य क्षेत्रमा हासिल भएको महत्वपूर्ण उपलब्धि सरकार, स्वास्थ्यकर्मी, साझेदार संस्था र समुदायबीचको बलियो र प्रभावकारी सहकार्यको परिणाम हो । डा. पाण्डवले भनेका छन् ‘यस यात्रामा योगदान गर्न पाएकोमा विश्व स्वास्थ्य संगठन गर्व गर्दछ ।’

डब्लुएचओले यस उपलब्धिलाई दीर्घकालसम्म कायम राख्न नेपाललाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।

उसले प्रत्येक बालबालिकालाई खोपबाट बचाउन सकिने रोगहरुबाट सुरक्षित राख्न पनि सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

नेपालले २०१२ मा ९ महिना देखि १५ वर्ष उमेर समुहका बालबालिकालाई लक्षित गरी राष्ट्रिय अभियानमार्फत आफ्नो खोप कार्यक्रममा रूबेला खोप समावेश गरेको थियो ।
सन् २०१२, २०१६, २०२० र २०२४ का चार पटकको राष्ट्रिय अभियानहरुले कोभिड–१९ महामारी र २०१५ तथा २०२३ का भूकम्मजस्ता ठूला सार्वजनिक स्वास्थ्य आपतकालबीच पनि खोप पहुँच विस्तारमा मद्दत पुर्‍याए । सन् २०२४ सम्म नेपालले कम्तीमा ९५ प्रतिशत भन्दा बढी पहुँच हासिल गर्‍यो।

 

Get real time updates directly on you device, subscribe now.

Comments are closed, but trackbacks and pingbacks are open.