२२ भदौ, काठमाडौँ । नेपालमा कोभिड–१९ बाट सोमबार थप ११ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा ४ महिला र ७ पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार काठमाडौँकी ३७, ८३ र ९० वर्षीया तीन महिला र कास्कीकी ६३ वर्षीया एक महिला गरी ४ जना महिलाको मृत्यु भएको छ ।
त्यस्तै मोरङका ७६ वर्षीय एक पुरुष, सिराहाका ८७ र ६२ वर्षीय दुई पुरुष, सर्लाहीका ३५ वर्षीय एक पुरुष, दोलखाका ६९ वर्षीय एक पुरुष, मकवानपुरका ३९ वर्षीय एक पुरुष र बाँकेका ५९ वर्षीय एक पुरुष गरी ७ जना पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३०० पुगेको छ । संक्रमितमध्ये ०.६४ प्रतिशतको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।