Nepal's Trusted Health Online Portal

विश्वभरका ३ लाख ४२ हजार बढी कोरोना संक्रमितको मृत्यु, ५३ लाख बढीमा संक्रमण

संक्रमितमध्ये २१ लाख १२ हजार १ सय ९८ जना भने निको

Get real time updates directly on you device, subscribe now.

११ जेठ, काठमाडौं । नोभेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट आइतबार बिहानसम्म विश्वभर ३ लाख ४२ हजार १०४ जनाको मृत्यु भएको छ । कोरोना भाइरस संक्रमितहरुको संख्या ५३ लाख ११ हजार ८९ पुगेको छ । संक्रमितमध्ये २१ लाख १२ हजार १ सय ९८ जना निको भएका जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क छ ।

पछिल्लो एक हप्तामा मात्रै कोरोनाको संक्रमणबाट ३१ हजार भन्दा बढीको मृत्यु भएको छ । त्यस्तै एक हप्तामा करिब ७ लाख मानिसहरुमा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै एक हप्तामा झण्डै ४ लाख मानिसहरु निको भएर घर फर्किएका छन् ।

कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने र संक्रमितको संख्या अमेरिकामा सबैभन्दा बढी रहेको छ । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार अमेरिकामा यो समाचार तयार पार्दा सम्म ९७ हजार ८७ जना संक्रमितहरुले ज्यान गुमाइसकेका छन् । अमेरिकामा १६ लाख २२ हजार ६०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

अमेरिकाको न्यूयोर्कमा मात्रै ३ लाख ५९ हजार भन्दा बढी मानिसहरुमा कोरोना संक्रमण फैलिएको छ भने त्यहाँ २९ हजार ३१ जनाको ज्यान गएको तथ्याङ्क छ । न्यूयोर्कमा विगतमा भन्दा पछिल्लो हप्ता कोरोनाबाट ज्यान गुमाउने र संक्रमण हुनेको दर केही घटेको छ ।

अमेरिका पछि सबैभन्दा बढी संक्रमण ब्राजिलमा फैलिएको छ । ब्राजिलमा पछिल्ला दिनहरुमा संक्रमण ह्वात्तै बढेको हो । गत हप्ता रसिया र बेलायतको भन्दा कम संक्रमित भएको ब्राजिल यो हप्ता अमेरिका पछि सबैभन्दा बढी संक्रमित भएको देशहरुको सुचीमा आइपुगेको छ । ब्राजिलमा ३ लाख ४७ हजार बढीमा संक्रमण भएको छ भने २२ हजार १३ जनाको ज्यान गएको छ ।

ब्राजिल पछि रसियामा ३ लाख ३५ हजार भन्दा बढी मानिसहरुमा कोरोना संक्रमण भएको छ । रसियामा संक्रमितहरुको मृत्युदर भने थोरै छ । हालसम्म रसियामा ३ हजार ३८८ जना संक्रमितको ज्यान गएको छ ।

रसियापछि कोरोना भाइरस सबैभन्दा बढी संक्रमण हुने देशहरुको चौथो स्थानमा बेलायत रहेको छ । बेलायतमा अघिल्लो हप्ता भन्दा यो हप्ता संक्रमित र मृत्युदर केही कम भएको छ । बेलायतमा यो समाचार तयार पार्दासम्म २ लाख ५८ हजार बढीमा संक्रमण फैलिएको छ । संक्रमणबाट बेलायतमा ३६ हजार ७५७ जनाको मृत्यु भइसकेको छ ।

बेलायतपछि स्पेनमा हालसम्म २ लाख ३५ हजार बढीमा संक्रमण पाइएको छ भने २८ हजार ६७८ जनाको मृत्यु भएको छ । स्पेनमा पछिल्ला दिनहरुमा कोरोनाको संक्रमण अघिल्ला दिनहरुको तुलनामा केही नियन्त्रण भइरहेको छ । पछिल्लो एक हप्तामा स्पेनमा करिब ५ हजार मात्रै संक्रमित थपिएका छन् ।

कोरोना भाइरसको संक्रमणका कारण सुरुमै धेरै प्रभावित बनेको इटलीमा २ लाख २९ हजार बढीमा संक्रमण भएको छ तर ज्यान गुमाउनेको संख्या बढी छ । इटलीमा हालसम्म ३२ हजार ७३५ जनाले ज्यान गुमाएका छन् । पछिल्ला दिनहरुमा इटलीले पनि कारोना केही हदसम्म नियन्त्रण गरिरहेको छ ।

त्यस्तै फ्रान्समा अहिले सम्म १ लाख ८२ हजार बढीमा संक्रमण पाइएको छ भने २८ हजार ६७८ जनाको मृत्यु भएको छ । फ्रान्समा पनि पछिल्ला दिनहरुमा अघिल्ला दिनहरुको तुलनामा संक्रमण कम हुँदै गएको देखिएको छ । त्यहाँ पछिल्लो एक हप्तामा करिब ३ हजार मात्रै कोरोना संक्रमित थपिएका छन् ।

फ्रान्स पछि जर्मनीमा १ लाख ७९ हजार बढी मानिसहरुमा कोरोना संक्रमण पाइएको छ । जर्मनीमा ८ हजार २६१ जना संक्रमितको ज्यान गएको छ । जर्मनीमा पनि पछिल्ला दिनहरुमा कोरोनाको संक्रमण कम हुँदै गएको पाइएको छ ।

जर्मनीपछि सबैभन्दा बढी संक्रमित हुने देशको सुचीमा टर्की रहेको छ । टर्कीमा १ लाख ५५ हजार बढी संक्रमित भएका छन् । टर्कीमा ४ हजार ३०८ जना संक्रमितले ज्यान गुमाएका छन् । टर्कीमा पनि कोरोनाको संक्रमण नियन्त्रण हुँदै गएको छ । एकहप्तामा टर्कीमा ७ हजार संक्रमित थपिएका छन् भने २१२ जनाले ज्यान गुमाएका छन् ।

टर्कीपछि इरानमा १ लाख ३३ हजार बढी संक्रमित भएका छन् । इरानमा ७ हजार ३५९ जना संक्रमितले ज्यान गुमाएका छन् ।

इरानपछि कोरोना भाइरस सबैभन्दा बढी संक्रमण हुने देशहरुको सुचीमा छिमेकी मुलुक भारत रहेको छ । भारतमा कोरोना भाइरसको संक्रमण तीब्र गतिमा फैलिरहेको छ । जसको सिधा प्रभाव नेपालसहितका छिमेकी मुलुकहरुमा पनि परिरहेको छ । भारतमा हालसम्म १ लाख ३१ हजार ४२३ जनामा कोरोना संक्रमण पुष्टि भएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क रहेको छ । भारतमा ३ हजार ८६८ जना संक्रमितहरुले ज्यान गुमाइसकेका छन् ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस अहिले विश्वका १८८ देशहरुमा फैलिएको छ । चीनमा हालसम्म ८४ हजार ८४ जना मानिसहरुमा कोरोना भाइरसको संक्रमण भएको तथ्याङ्क छ । संक्रमित मध्ये ४ हजार ६ सय ३८ जनाको मृत्यु भएको छ । चीनमा अहिले कोरोना संक्रमण लगभग नियन्त्रणको स्थितिमा रहेको छ ।

सार्क राष्ट्रहरुमध्ये सबैभन्दा कम भुटानमा २४ जनामा मात्र संक्रमण देखिएको छ । भुटानमा पछिल्लो एक हप्तामा ३ जना मात्र संक्रमित थपिएका हुन् । भुटानमा हानलसम्म कोरोनाका कारण कसैको पनि ज्यान गएको छैन ।

नेपालमा कोरोना संक्रमितहरुको संख्या बढेर ५८४ पुगेको छ । पछिल्लो एक हप्तामा २९३ जना संक्रमित थपिएका हुन् । कोभिड–१९ को संक्रमणबाट नेपालमा ३ जनाको ज्यान गएको छ । नेपालमा संक्रमितमध्ये ७९ जना निको भएका छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.