काठमाडौं । नेपालमा दोस्रो कोरोना संक्रमित युवती सत्ताइसौं दिनमा निको भएर डिस्चार्ज भएकी छन् । गत चैत १० गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा उनलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पोजिटिभ देखिएको थियो । उनी काठमाडौंकी प्रसिद्धि श्रेष्ठ हुन् ।
कोरोनाको संक्रमण पुष्टि भएपछि उनलाई टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा भर्ना गरिएको थियो । उपचार पछि उनको शुक्रबार भएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको थियो । आज शनिबार पुन परीक्षण गर्दा पनि कोरोना संक्रमण रिपोर्ट नेगेटिभ आएपछि उनलाई अस्पतालले डिस्चार्ज गरेको हो । दोस्रो पटकको परीक्षण रिपोर्ट पनि नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएकोे छ ।
फ्रान्सबाट कतार हुँदै नेपाल आएकी उनी संगै जहाजमा आएका अरु २ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । बागलुङका उनीहरु हाल उपचाररत छन् । काठमाडौं आएर घरमै क्वारेन्टाइनमा बसेकी उनलाई रुघाखाकी लागेपछि कोरोना परीक्षण गरिएको थियो ।
निको भएर डिस्चार्ज भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई बधाई दिएका छन् । फेसबुक र ट्वीटर मार्फत एक सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले डिस्चार्ज भएकी श्रेष्ठको आरोग्यताको कामना गर्दै उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मीहरु तथा संबद्ध सबैलाई बधाई र धन्यवाद दिएका छन् ।
अस्पतालबाट निको भएर घर फर्किएकी श्रेष्ठले पनि आफ्नो उपचारमा पूर्ण सहयोग गरेको भन्दै उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई धन्यवाद दिएकी छन् ।
चैत १० गते उनलाई कोरोना संक्रमण पुष्टि भएपछि लगत्तै सरकारले चैत ११ गते देखी देश लकडाउन गर्ने निर्णय गरेको थियो । साथै उनीसंगै जहाजमा आएकाहरु सबैको खोजी गरेको थियो ।