२८ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतले ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी प्रतिनिधिसभा सदस्य उम्मेद्वार डा. तोसिमा कार्कीको उम्मेद्वारी कायम राख्न आदेश दिएको छ ।
सर्वोच्चका न्यायाधिसद्वय ईश्वर खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले डा.कार्कीको उम्मेद्वारी कायम गर्न आदेश दिएको हो ।
नेपाल मेडिकल काउन्सिलको सदस्य भएकोले सो पद लाभको पद रहेको भन्दै डा.कार्कीको उम्मेद्वारी निर्वाचन आयोगले खारेज गरेको थियो । आयोगको निर्णय विरुद्ध डा.कार्की सर्वोच्च गएकी थिइन् ।
कार्कीको मुद्दामा सुनुवाई गर्दै सर्वोच्चले डा.कार्कीको उम्मेद्वारी तत्काल खारेज नगर्न निर्वाचन आयोगलाई अन्तरिम आदेश दिएको थियो ।
तर उक्त अन्तरिम आदेश खारेजीको माग गर्दै निर्वाचन आयोगले पुन सर्वाेच्च अदालतमा भ्याकेट दिएको थियो । सर्वोच्चले सोमबार यसअघिको अन्तरिम आदेशलाई नै निरन्तरता दिने गरी फैसला गरेको छ ।
उम्मेद्वार कार्कीले आफ्नो उम्मेद्वारी कायम राख्न सर्वोच्च अदालतले फैसला गरेको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएकी छिन् ।
‘आज फेरी सम्मानित सर्वोच्च अदालतले मेरो उम्मेद्वारी कायम नै राख्ने फैसला गरी सत्य डगमगाउँदैन भन्ने प्रमाणित गरेको छ’ अदालतको आदेशसहित कार्कीले लेखेकी छिन् ‘न्यायको पक्षमा उभिनु भएका सम्पूर्णलाई फेरी पनि धन्यवाद् ।’