२८ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टाभित्र देशभर ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १ हजार ४२५ नमुना परीक्षण गरिएकोमा ९ नमुनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा ६७२ नमुना आरटी पीसीआर गर्दा ८ जना तथा ७५३ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ जना गरी जम्मा ९ मा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये २३ जना भने संक्रमणमुक्त भएका छन् ।
नेपालमा हालसम्म कोरोना संक्रमण केस आरटी पीसीआर विधिबाट १० लाख ८१४ र एन्टिजेन विधिबाट १ लाख ५२ हजार १९५ पुगेको छ । संक्रमितमध्ये ९ लाख ८८ हजार २९६ केस संक्रमणमुक्त भएको छ ।
नेपालमा हालसम्म कोरोनाका कारण १२ हजार १९ जनाले ज्यान गुमाएका छन् । संक्रमितमध्ये ९८.७ प्रतिशत निको भएका छन् भने १.२ प्रतिशतको मृत्यु भएको छ ।
अब देशभर ४९९ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।