Nepal's Trusted Health Online Portal

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा.सुनीलकुमार जोशी र रजिष्ट्रारमा डा.भिमबहादुर चन्द

Get real time updates directly on you device, subscribe now.

३१ असार, काठमाडौं । सरकारले कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा.सुनीलकुमार जोशी र रजिष्ट्रारमा डा.भिमबहादुर चन्दलाई नियुक्त गरेको छ ।

नियुक्तीपछि आजै शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले उपकुलपति र रजिष्ट्रारलाई पद तथा गोपनियताको सपथसमेत गराएका छन् ।

शिक्षा तथा खेलकुद मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा विश्वविद्यालयका सहकुलपति समेत रहेका मन्त्री पोखरेलले नवनियुक्त उपकुलपति र रजिष्ट्रारलाई सपथ गराएका हुन् ।

शिक्षा तथा खेलकुद मन्त्रालयमा बुधबार बसेको विश्वविद्यालयको सिनेट बैठकले उक्त निर्णय गरेको हो । बैठकमा विश्वविद्यालयको सहकुलपतिद्वय शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको पनि उपश्थिति थियो ।

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐनको दफा २५ अनुसार सिफारिस समितिले योग्यताक्रमसहित ३ जनाको नाम सिफारिस गर्ने र तीमध्ये पहिलो योग्यताक्रमका उम्मेद्वारलाई नियुक्त गर्ने कानुनी व्यवस्था छ ।

नवनियुक्त उपकुलपति प्रा.डा.सुनीलकुमार जोशीले विनायक मिसन विश्वविद्यालयबाट ‘इन्जुरी प्रिभेन्सन एण्ड सेफ्टी प्रोमोसन’ विषयमा विद्यावारिधि गरेका छन् । उनले विभिन्न स्वदेशी तथा विदेशी विश्वविद्यालयमा अध्यापन तथा अनुसन्धानमा योगदान दिएका छन् । यसअघि उनले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको संस्थापक कुलपतिका रुपमा समेत काम गरिसकेका छन् ।

उनले बेलायतको प्रतिष्ठित अक्सफोर्ड विश्वविद्यालयको विभागीय सदस्यका रुपमा समेत काम गरिसकेका छन् । काठमाडौं चाबहिलका स्थायी बासिन्दा हुन् ।

त्यस्तै, नवनियुक्त रजिष्ट्रार चन्द विगत २५ वर्षदेखि स्वास्थ्य सेवा तथा स्वास्थ्य प्रशासनमा क्रियाशील छन् । अस्पताल व्यवस्थापन विषयमा विद्यावारिधि गरेका चन्दले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको कार्यकारी परिषद् सदस्य तथा नेपाल मेडिकल काउन्सिलको कार्यकारी परिषद् सदस्यको जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

यसअघि सरकारले अध्यादेशमार्फत सबै विश्वविद्यालयका पदाधिकारीहरुलाई पदमुक्त गरेपछि उक्त पदहरु रिक्त थिए ।

 

 

Get real time updates directly on you device, subscribe now.

Comments are closed, but trackbacks and pingbacks are open.