३० कात्तिक, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवाको अधिकृत बाह्रौं तहको अतिरिक्त स्वास्थ्य सचिव पदमा बढुवा प्रक्रिया अघि बढाएको छ ।
मन्त्रालयको बढुवा समितिले नेपाल स्वास्थ्य सेवातर्फ रिक्त रहेको दुई पदपुर्तिका लागि प्रक्रिया अघि बढाएको बुधबार जारी सुचनामार्फत जानकारी दिएको हो ।
बढुवाका लागि २०७९ असार मसान्तसम्म नेपाल स्वास्थ्य सेवा ऐनको दफा २६ (१) बमोजिम कार्यसम्पादन गरेको हुनु पर्नेछ । एघारौं तहमा कम्तीमा ३ वर्ष सेवा गरेका कर्मचारीहरुले प्रतिस्पर्धा गर्न सक्नेछन् । कार्यसम्पादन क्षमताको आधारमा बढुवा हुने बढुवा समितिले जनाएको छ ।
बाह्रौं तहमा बढुवा हुनका लागि योग्यता पुगेका इच्छुक कर्मचारीेले १५ दिन भित्र मन्त्रालयमा व्यक्तिगत विवरण दर्ता गराउनुपर्नेछ ।
मन्त्रालयको वेवसाइट www.mohp.gov.np मा रहेको बढुवा सम्बन्धी व्यक्तिगत विवरण फारम डाउनलोड गरी उक्त विवरण सम्बन्धित निकायबाट प्रमाणित गराई पेश गर्नुपर्नेछ ।
यसअघि मन्त्रालयमा डा. श्यामसुन्दर यादव र डा. गुणराज लोहनीको अवकाशपछि २ ओटा दरबन्दी रिक्त छ ।