१५ फागुन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले इजाजत नलिई स्वास्थ्य सेवा सञ्चालन गरिरहेका स्वास्थ्य संस्थाहरुलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. मदनकुमार उपाध्यायद्वारा हस्ताक्षरित पत्रमार्फत इजाजत नलिई स्वास्थ्य संस्था संचालन गर्ने वा त्यस्ता संस्थाहरुबाट स्वास्थ्य सेवा सञ्चालन गरिरहेका स्वास्थ्य संस्थाहरुलाई कानुन बमोजिम कारबाही गरिने उल्लेख छ ।
इजाजत नलिई स्वास्थ्य संस्था सञ्चालन गरेको तथा त्यस्ता संस्थाहरुबाट स्वास्थ्य सेवा उपलब्ध गराएको भनी सञ्चारमाध्यममा समाचार आएको सम्बन्धमा ध्यानाकर्षण भएको पत्रमा लेखिएको छ ।
‘जनस्वास्थ्य नियमावली २०७७ को नियम १२ अनुसार कसैले पनि इजाजतपत्र नलिई निजी, गैरसरकारी, सहकारी तथा गैरनाफामूलक सामुदायिक स्वास्थ्य संस्था सञ्चालन गर्न तथा त्यस्तो संस्थाबाट स्वास्थ्य सेवा उपलब्ध गराउन नमिल्ने व्यहोरा स्मरण गराउँदै स्वास्थ्य संस्था संचालन इजाजतपत्र तथा नवीकरणका लागि सोही नियमावलीको परिच्छेद–४ तथा अनुसूची–९ बमोजिमका निकायहरुमा सम्पर्क गर्नुहुन साथै यस सम्बन्धमा अन्यथा भएको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही भई जाने व्यहोरा समेत यसै पत्रमार्फत जानकारी गराइन्छ,’ पत्रमा उल्लेख गरिएको छ ।
