Nepal's Trusted Health Online Portal

बर्डफ्लु भेटिएपछि काभ्रेको सीमा नाका साँगामा उच्च सतर्कता

Get real time updates directly on you device, subscribe now.

२८ फागुन । छिमेकी जिल्ला भक्तपुरको सूर्यविनायक नगरपालिका–१० स्थित एक पोल्ट्री फार्ममा आज बर्डफ्लु भेटिएपछि काभ्रेपलाञ्चोकको सीमानाका साँगामा उच्च सतर्कता अपनाइएको छ ।

उपत्यकाको पूर्वी नाकाका रुपमा रहेको साँगामा २४ सै घण्टा पशुपक्षीलगायत वस्तु आयात–निर्यातमा सतर्कता अपनाउँदै परीक्षण थालिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भन्नुभयो, “छिमेकी जिल्ला भक्तपुरमा बर्डफ्लु भेटिएपछि काभ्रेपलाञ्चोकमा उच्च सतर्कता अपनाइएको र भोलि आइतबारदेखि थप सतर्कताका योजना सञ्चालन गर्छौँ ।”

उहाँका अनुसार जिल्लास्थित भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, बनेपा नगरपालिका तथा प्रहरीको संयुक्त टोलीद्वारा सीमानाका साँगामा बर्डफ्लु पशुपक्षीलगायत सामग्री परीक्षण भइरहेको हो । साँगामा रात्रिकालीन अवस्थामा परीक्षणका लागि आजैदेखि थप जनशक्ति व्यवस्थित गरिने भएको छ ।

जिल्लाको दक्षिण–पूर्वी नाका बिपी राजमार्गअन्तर्गत रोशी गाउँपालिकाको मङ्गलटारमा पक्षीे जाँच केन्द्र स्थापना गरिएको र जिल्लाअन्तर्गत राजमार्ग जोडिने अन्य नाकामा पनि उच्च सतर्कता अपनाइने प्रजिअ पाण्डेले जानकारी दिनुभयो ।

राजधानी काठमाडौंसहित केही जिल्लामा बर्डफ्लु देखिएपछि उपत्यकाको पूर्वीनाका तथा जिल्लामा उच्च सतर्कता अपनाउन थालिएको हो । पनौती र बनेपा नगरपालिकाले आफ्नो क्षेत्रभित्रका व्यावसायिकरुपमा कुखुरा, कालिज तथा अन्य पक्षीपालक कृषकसँग उक्त महामारी रोगबारे अन्तक्र्रिया गर्नाका साथै विभिन्न स्थानको नमूना परीक्षण गर्दा बर्डफ्लु नेगेटिभ रिपोर्ट आएको जनाएका थिए ।

केन्द्रका पशु चिकित्सक राजकुमार हुमागाईंले पक्षी पालिएको खोर सधैँ सफा राख्र्दै निसङ्क्रमण गर्नुपर्ने र सम्बद्ध व्यक्तिले मास्क, बुट र पञ्जा अनिवार्य लगाउनुपर्ने बताउनुभयो । गत माघ १६ गते मोरङको दुई स्थानमा देखिएको बर्डफ्लु त्यसयता चितवन र सङ्घीय राजधानी काठमाडौं भक्तपुरमा देखिएको थियो । -रासस ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.