१९ साउन । वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा नौ के.जी. बराबरको ट्युमरको सफल शल्यक्रिया भएको छ ।
सप्तरीका एक ५५ वर्षीय पुरुषको जटिल शल्यक्रियामार्फत सफलतापुर्वक ट्युमर निकालिएको हो । उनको गत साउन ९ गते शल्यक्रिया गरिएको थियो ।
जी.आई सर्जरी विभागका एसिस्टेन्ट प्रोफेसर डा.कुणाल विक्रम देवको नेतृत्वमा ती पुरुषको पेटको पछिल्लो भागमा रहेको ९ के.जी तौल बराबरको ट्युमरको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको हो ।
डा.कुणालका अनुसार ट्युमर पेटको पछिल्लो भागमा रहेको शरीरको ठूला रगतको नशा जस्तै मिर्गौला र यस अंगबाट आएको पिसाबको नली, ठूलो आन्द्रा, शरीरको तल्लो भागलाई सञ्चालन गर्ने स्नायुहरुसग गाँसिएको हुनाले उक्त सर्जरी जटिल थियो । बिरामीको शल्यक्रियामा ट्युमरका साथै मिर्गौलाबाट आएको पिसाबको नली पनि काटेर जोड्नु परेको थियो ।
शल्यक्रियाका लागि मल्टिडिसिप्लेनरी टिम एप्रोज तरिकाबाट डा. कुणालको नेतृत्वमा जी.आई सर्जरी विभागबाट प्रा.डा. शैलेश अधिकारी, डा. सुजन गौतम, डा. रतिस कर्ण, डा. सुस्मित शर्मा, यूरोलोजीबाट डा. आवाज काफ्ले, कार्डियोथोरासिक भास्कुलर सर्जरीबाट डा. विजय साह, एनेस्थेसिया विभागबाट प्रा.डा. आशिष घिमिरेको नेतृत्वमा डा.अरुण मण्डल, डा. सुजन पुन तथा नर्सिङ टिमका गीता बि.क., रेनुका चौधरी र शोभा राई संलग्न थिए ।
सफल शल्यक्रियाको आठौँ दिनमा बिरामी निको भएर घर फर्किएको अस्पतालले जनाएको छ ।