३१ वैशाख, काठमाडौं । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले पदबाट राजिनामा दिएका छन् । यो सँगै जसपा नेपाल औपचारिक रुपमा सरकारबाट बाहिरिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजिनामा पत्र बुझाउँदै यादवले विकसित राजनीतिक परिस्थितिका कारण राजिनामा दिएको उल्लेख गरेका छन् ।
‘म उपप्रधानमन्त्रीको रुपमा जिम्मेवारी सम्हाल्दै आएकोमा वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकारमै रहेर सहकार्यलाई निरन्तरता दिन नसकिने भएको हुँदा उक्त जिम्मेवारीबाट राजिनामा दिन चाहान्छु’ यादवले राजिनामापत्रमा उल्लेख गरेका छन् ।
प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारमा रहेर सहकार्य गर्ने अवसरका लागि यादवले प्रधानमन्त्रीलाई धन्यवाद दिएका छन् ।
उपप्रधानमन्त्री यादवसँगै राज्यमन्त्री दीपक कार्कीले पनि राजीनामा दिएका छन् । जसपामा आएको फुटसँगै उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल सरकारबाट बाहिरिएको हो ।
