Nepal's Trusted Health Online Portal

काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालबिचको सहकार्य कायम राख्न प्रधानमन्त्रीको निर्देशन

Get real time updates directly on you device, subscribe now.

३० साउन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालबिचमा भएको सहकार्यलाई आगामी पाँच वर्षसम्म कायम राख्न निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको काठमाडौँ विश्वविद्यालयको ९७औँ सभामा कुलपतिका हैसियतले प्रधानमन्त्री ओलीले विश्वविद्यालय र अस्पतालबिच देखिएको असमझदारी र समस्या छलफल गरी समाधान गर्न निर्देशन दिएका हुन् ।

धुलिखेल अस्पतालले प्रदेश सरकारबाट प्रतिष्ठानको स्वीकृति लिन लागेको र विश्वविद्यालयले आफ्नै अस्पताल खोल्ने तयारी गरेको सन्दर्भमा दुई संस्थाबिच विवाद र अन्योल उत्पन्न भएको थियो ।

“विश्वविद्यालयले तत्काल नयाँ अस्पताल खोल्न र त्यसका लागि सरकारले लगानी गर्न नसक्ने भएकाले धुलिखेल अस्पतालसँगको सम्बन्ध र सहकार्यलाई कम्तीमा पाँच राखिनुपर्छ”, प्रधानमन्त्री ओलीले भने, “त्यस अवधिभित्र विश्वविद्यालयले आफ्नै अस्पताल खोल्ने गरी तयारी गर्नेछ । साथै नीतिगत विषयमा आगामी भदौभित्र विश्वविद्यालयको अर्को बैठक गरेर निर्णय गर्नेछौँ । सोही बैठकमा अन्य चुनौती र कठिनाइका विषयवस्तुबारे पनि छलफल गर्नेछौँ ।”

सभामा धुलिखेल नगरपालिकाका प्रमुख अशोक व्याञ्जूले विश्वविद्यालयले अस्पतालसँगको सम्बन्ध एकाएक तोड्न नमिल्ने विचार राखेपछि प्रधानमन्त्री ओलीले यस विषयमा उपकुलपति डा. भोला थापालाई स्पष्ट पार्न समय दिएका थिए । पूर्वउपकुलपति डा सुरेशराज शर्मासहितको राय लिएर कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले हाल दुवै संस्थाको सम्बन्ध कायम राख्न आवश्यक ठानिएकाले सहकार्यलाई निरन्तरता दिन निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री ओलीले सिट क्षमताअनुसार विश्वविद्यालयमा विद्यार्थी भर्ना हुने अवस्था ल्याउन पनि सुझाव दिए । नेपाल सरकारको गत आर्थिक वर्षमा अनुमानभन्दा २४ प्रतिशतले राजस्व कम उठेको र खर्च बढेकाले चाहेर पनि सरकारले विश्वविद्यालयलाई थप अनुदान दिन नसक्ने प्रधानमन्त्री ओलीले स्पष्ट पारे।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति विद्या भट्टराईको उपस्थितिमा भएको बैठकमा विश्वविद्यालयका रजिष्ट्रार डा. अच्युतप्रसाद वाग्लेबाट प्रस्तुत रु. चार अर्ब ३० करोड ९० लाख बजेट पारित भएको छ । त्यस्तै, सभाले आगामी २९औँ दीक्षान्त समारोहकाका लागि विभिन्न सङ्कायबाट दीक्षित हुने दुई हजार तीन सय १४ विद्यार्थीको ‘ग्रेसलिष्ट’ पारित गरेको छ । रासस

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.