६ भदौ, काठमाडौँ । स्वास्थ्य क्षेत्रमा सुधारका लागि एक आपसमा सहकार्य गर्ने संघ, प्रदेश र स्थानीय तहले प्रतिबद्धता जनाएका छन् । संघ, प्रदेश तथा स्थानीय तह ऐन २०७७ अन्र्तगत गठित तीनै तह सहभागी विषयगत समितिको पहिलो पटक बसेको बैठकमा सहभागी देशका प्रदेश सरकार तथा गाउँपालिका र नगरपालिका महासंघका प्रतिनिधिहरुले स्वास्थ्यका योजना तथा कार्यक्रममा दोहोरोपना ल्याउन नदिने प्रतिबद्धता जनाएका छन् ।
बैठकमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले तीनै तहले आ आफ्नै तरिकाले काम गर्दा दोहोरोपन र नतिजा आउन समेत समस्या भएको अवस्थामा ऐन आएर पनि कार्यान्वयन जान नसकेको समितिलाई गतिशिल बनाउन प्रयास गरेको बताए । उनले बजेट र कार्यक्रम बनाउँदा प्रदेश र स्थानीय तहसँग समन्वय गर्न तयार रहेको भन्दै काम गर्दा कहिले पद जान्छ भन्ने नसोची काम गर्न प्रदेशका मन्त्रीहरुसँग आग्रह गरे ।
मन्त्री पौडेलले आफू आएयता लोक सेवा आयोगबाट दरबन्दी तोकिएका सबै चिकित्सक आफ्नो ठाउँमा गएको र यो पहिलो रेकर्ड भएको बताए । उनले आफ्नै मानिसबाट चिकित्सक सरुवाका लागि अनुरोध आउने भन्दै प्रदेशका मन्त्रीहरुलाई भने, ‘हामीले तोकिएको ठाउँमा खटाइएका चिकित्सकलाई ठाउँमै काम गर्न दिऔं । यहाँहरुले सरुवाका लागि अनुरोध गर्नुहुन्न भन्ने मैले विश्वास लिएको छु ।’
