Nepal's Trusted Health Online Portal

साउनबाट ‘डेङ्गी सचेतना तीन महिने अभियान’ सञ्चालन हुने

Get real time updates directly on you device, subscribe now.

२९ असार, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको सुरुदेखि देशव्यापी डेङ्गी सचेतना अभियान सञ्चालन गर्ने भएको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले साउन, भदौ र असोज महिनाभर तीन महिने डेङ्गी सचेतना अभियान सञ्चालन गर्न लागेको हो ।

अभियानलाई प्रभावकारी बनाउन मन्त्रालयले सबै स्थानीय तहसँग आवश्यक समन्वय र सहकार्य गर्न पनि सम्बन्धित निकायलाई अनुरोध गरेको छ ।

गत आर्थिक वर्षमा सञ्चालन गरिएको सचेतना अभियान सफल भएको तथा समुदायको सक्रिय सहभागितामार्फत डेङ्गी संक्रमण न्युनीकरणमा सकारात्मक प्रभाव परेको भन्दै यस वर्ष पनि अभियानलाई निरन्तरता दिइएको मन्त्रालयको प्रादेशिक तथा स्थानीय समन्वय शाखाले जारी गरेको पत्रमा उल्लेख छ ।

अभियान अन्तर्गत प्रत्येक हप्ताको शुक्रबार ‘हरेक शुक्रबार, सफा शुक्रबार’ अभियान सञ्चालन हुनेछ ।

अभियानमा सार्वजनिक निकाय, कार्यालय, विद्यालय तथा सामुदायिक संस्थाहरुमा लामखुट्टेको प्रजननस्थल खोजी गरी नष्ट गर्ने तथा सरसफाई कार्यक्रम सञ्चालन गरिनेछ ।

उक्त कार्यमा स्थानीय निकायले वडा कार्यालय, टोल विकास संस्था, नागरिक समाजलगायतका सरोकारवालासँग समन्वय गर्नुपर्ने व्यवस्था गरिएको छ ।

अभियानका क्रममा प्रत्येक वडामा पोस्टर, ब्यानर, समुह छलफल, अभिमुखीकरण तथा अन्य स्थानीय माध्यममार्फत डेङ्गीको जोखिम, रोकथाम र नियन्त्रणसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ ।

त्यस्तै सो क्रममा जनचेतनामुलक रेडियो सामग्री स्थानीय रेडियोहरुमार्फत नियमित प्रसारण गरिनेछ । भने होटल, उद्योग तथा निजी क्षेत्रसँग सहकार्य गरी डिजिटल बोर्ड तथा अन्य सञ्चारमाध्यमबाटसमेत डेङ्गीसम्बन्धी जनचेतना फैलाइनेछ ।

डेङ्गीको लक्षण देखिएमा तत्काल नजिकको स्वास्थ्य संस्थामा पुग्न वा निःशुल्क हेल्थ हेल्पलाइन १११५ मा सम्पर्क गर्न पनि मन्त्रालयले सर्वसाधारणलाई आग्रह गरेको छ ।

ज्वरो आउनु, शरीरमा बिमिरा देखिनु, जोर्नी वा मांसपेशी दुख्नु, टाउको तथा आँखाको वरिपरि दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु आदि डेङ्गीका लक्षण हुन् ।

Get real time updates directly on you device, subscribe now.

Comments are closed, but trackbacks and pingbacks are open.