५ भदौ, सुदूरपश्चिम । नेपालमा बालबालिकालाई घिउ, मह र सुनको भष्मको मिश्रणबाट बनाइएको आयुर्वेदिक थोपा खुवाउने ‘स्वर्ण प्राशन बिन्दु’ राष्ट्रिय अभियान प्रारम्भ भएको छ ।
वैज्ञानिक प्रमाणीकरणसमेत गरिएको यो थोपा खुवाउने स्वर्ण प्राशन बिन्दु सुदूरपश्चिम प्रदेशको प्रदेश आयुर्वेदिक चिकित्सालय धनगढीबाट आज प्रारम्भ भएको हो ।
यो आयुर्वेदिक थोपा खुवाउँदा बालबालिकामा रोग प्रतिरोधी क्षमता बढ्ने भई पाचन प्रणाली बलियो हुने, श्वासप्रश्वासको समस्या नहुने, तिष्ण बुद्धिको विकास गर्नेलगायतको फाइदा हुने बताइएको छ ।
यो अभियानअन्तर्गत छ महिनादेखि पाँच वर्ष उमेरसम्मका बालबालिकालाई निःशुल्क रुपमा यो थोपा खुवाउन लागिएको हो ।
प्रदेश आयुर्वेदिक चिकित्सालय धनगढीका मेडिकल सुपरिटेन्डेन्ट डा रामकामेश्वर ठाकुरले चिकित्सालयमा नै यो थोपा तयार गरिएको बताउनुभयो ।
“मन्त्रको जप गर्दै घिउ, मह र सुनको भष्मको मिश्रण गरेर यो थोपा तयार पारिएको हो”, उहाँले भन्नुभयो, “यस्तो आयुर्वेदिक औषधि समाजमा सदियौँदेखि मौलिक परम्पराका रुपमा प्रयोग हुँदै आएको भए पनि सरकारीस्तरमा औपचारिक रुपमा आज सुरु भएको हो ।”
यो औषधिको प्रतिथोपा तयार पार्न करिब रु ५० खर्च भएको उहाँको भनाइ छ । चिकित्सालयले तत्कालका लागि पाँच हजार बालबालिकालाई पुग्ने आयुर्वेदिक थोपा तयार पारेको जनाएको छ ।
सिंहदरबार वैद्यखानामा सुनको भष्म तयार पार्ने काम बन्द हुँदा यो भष्म भारतीय बजारबाट मगाउनुपरेको उहाँले बताउनुभयो । सुनको भष्म मिसाएर तयार पारिने जुनसुकै आयुर्वेदिक औषधिको सेवनले मानिस निरोगी हुने भनाइ छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आज बालबालिकालाई यो थोपा खुवाएर ‘स्वर्ण प्राशन बिन्दु’ को शुभारम्भ गर्नुभयो ।
सो अवसरमा मन्त्री पौडेलले यो थोपा खुवाउने कार्यक्रम देशभरि विस्तार गरिने बताउनुभयो ।
प्रदेश सरकारका समाजिक विकासमन्त्री मेघराज खड्काले थोपा खुवाउने यो कार्यक्रमबाट लाभ लिन प्रदेशवासीलाई आह्वान गर्नुभयो ।
समारोहमा धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल, कैलालीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल, स्वास्थ्य निर्देशनालयका निर्देशक डा खगेन्द्र बमलगायतले आयुर्वेदिक औषधिको महत्वका बारेमा प्रकाश पार्नुभएको थियो । रासस
Comments are closed, but trackbacks and pingbacks are open.