Nepal's Trusted Health Online Portal

कोभिडसम्बन्धी जानकारी ‘केही पनि नलुकाई’ साझा गरेको चीनको दाबी

Get real time updates directly on you device, subscribe now.

१६ पुस, बेइजिङ। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले रोगको उत्पत्तिको बारेमा बुझ्न थप तथ्याङ्क र पहुँचको आग्रह गरेपछि बेइजिङले मङ्गलबार कोभिड-१९ सम्बन्धी जानकारी ‘केही पनि नलुकाई’ साझा गरेकोमा जोड दिएको छ ।

चीनको मध्य सहर वुहानमा पहिलो पटक देखा परेको कोभिड-१९ले लाखौँ मानिसको ज्यान लिएको थियो भने अर्थतन्त्रलाई तहसनहस पार्नुका साथै स्वास्थ्य प्रणालीलाई कमजोर बनाएको थियो । डब्लुएचओले सोमबार विज्ञप्ति प्रकाशित गर्दै चीनले थप जानकारी साझा गर्नु ‘नैतिक र वैज्ञानिक अनिवार्यता’ भएको बताएको छ ।

“पाँच वर्षअघि…चीनले तुरुन्तै डब्लुएचओ र अन्तर्राष्ट्रिय समुदायसँग महामारीको जानकारी र भाइरल जिन अनुक्रम साझा गर्यो”, विदेश मन्त्रालयका प्रवक्ता माओ निङले मङ्गलबार नियमित पत्रकार सम्मेलनमा भन्नुभयो, “कुनै पनि कुरामा रोक नलगाई हामीले हाम्रो रोकथाम, नियन्त्रण र उपचारको अनुभव साझा गर्यौँ, यसले अन्तर्राष्ट्रिय समुदायको महामारीसँग लड्ने काममा ठुलो योगदान पुर्याउँछ ।”

यो महिना वुहानमा महामारी फैलिएको पहिलो रिपोर्ट भएको पाँचौँ वार्षिकी हो । कोभिड-१९ महामारीका क्रममा डब्लुएचओले चिनियाँ अधिकारीहरूको पारदर्शिता र सहयोगको कमीको बारम्बार आलोचना गरेको थियो । डब्लुएचओको नेतृत्वमा र चिनियाँ सहकर्मीहरूको साथमा विशेषज्ञहरूको टोलीले सन् २०२१ को सुरुमा महामारीको उत्पत्तिको बारेमा अनुसन्धान गरेको थियो ।

एक संयुक्त प्रतिवेदनमा तिनीहरूले भाइरस सम्भवतः बजारमा मध्यस्थ जनावरबाट मानिसमा सर्ने अनुमानलाई समर्थन गरे । अनुसन्धानकर्ताहरू त्यसयता चीन फर्कन सकेका छैनन् र डब्लुएचओका अधिकारीहरूले पटक-पटक थप तथ्याङ्क मागेका छन् । रासस/एएफपी

Get real time updates directly on you device, subscribe now.

Comments are closed, but trackbacks and pingbacks are open.