Nepal's Trusted Health Online Portal

एमपक्स नियन्त्रणका लागि स्वास्थ्यमन्त्री पौडेलद्वारा त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक

डब्लुएचओले भन्यो नेपालको सजगता प्रशंसनीय

Get real time updates directly on you device, subscribe now.

१७ पुस, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपालमा एमपक्स जोखिमसँग जुध्न अपनाइएको सजगताबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर स्थलगत निरीक्षण गर्दै सम्बद्ध अधिकारीहरुको बैठक डाकेर जोखिम फैलन नदिन प्रभावकारी सेवा दिन आग्रह गरेका छन् ।

अहिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एमपक्स फैलन नदिन विमानस्थल हुँदै स्वदेश आउने यात्रुका लागि हेल्थ डेस्कमार्फत निगरानी र सचेतनामूलक जानकारी दिंदै आइरहेको छ ।

मन्त्री पौडेलले विमानस्थलमा एयरलायन्स, नागरिक उड्डयन अधिकारी, अद्यागमनका कर्मचारी तथा सुरक्षाकर्मीहरुसहित अधिकारीहरुलाई नागरिकमाझ थप जोखिम फैलन नदिन मन्त्रालय प्रतिबद्ध रहेको बताए । ‘तपाईंहरुलाई कुनै पनि काम कुरामा आवश्यक सहयोग उपलब्ध गराउन हामी तयार छौं,’ उनले भने, ‘केही समस्या परे भन्नुहोला ।’
हाल साउदी अरेबियाबाट आएका दुई नागरिकमा संक्रमण देखिएकामा एक उपचारपछि घर फर्किसकेका छन् । अर्का एकको सुरक्षित अवस्थामा सरुवा रोग नियन्त्रण अस्पतालमा उपचार भैरहेको छ ।

मन्त्री पौडेलले नमूना परीक्षणका लागि जनस्वास्थ्य प्रयोगशाला, उपचारका लागि सरुवा रोग नियन्त्रण अस्पताल अनि सचेतना फैलाउन इपिडिमियोलोजी रोग नियन्त्रण महाशाखाले मिलेर काम गरिरहेको जानकारी दिए ।

हामी नागरिकलाई जोखिममा पर्न नदिन आवश्यक सबै सतर्कता अपनाइरहेका छौं, विमानस्थलका स्वास्थ्य अधिकारीहरुसहित उड्डयन, अध्यागमन, सुरक्षा अधिकारी तथा एयरलायन्स कर्मचारीलाई सम्बोधन गर्दै उनले भने, ‘तपाईंहरुले पनि जिम्मेवारीपूर्वक साथ दिनुहोला ।’

मन्त्रालयले विमानस्थलबाट बाहिरिएका संकास्पद बिरामीको सम्पर्क ट्रेसिङका अलावा फर्कनेहरुलाई एमपक्सबारे सचेतना विमानस्थलमा रहेको हेल्थ डेस्कबाट फैलाइरहेको छ । बिरामीको टेकुस्थित सरुवा नियन्त्रण अस्पतालमा उपचार भैरहेको प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।

मन्त्री पौडेलले साउदी अरेबियाबाट संक्रमित बिरामी आइरहेकाले नेपाली समुदायमाझ सचेतनाका लागि नेपाली दूतावासमार्फत काम गर्ने प्रतिबद्धतासमेत जनाए ।

विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि राजेश सम्भाजीराव पाण्डवले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एमपक्स नियन्त्रणका लागि अपनाएको सजगता प्रशंसनीय रहेको भन्दै आवश्यक सहयोगका लागि तयार रहेको बताए ।

Get real time updates directly on you device, subscribe now.

Comments are closed, but trackbacks and pingbacks are open.