Nepal's Trusted Health Online Portal

डडेल्धुरा अस्पतालमा डायलाइसिस सेवा सुरु   

Get real time updates directly on you device, subscribe now.

५ भदौ, अमरगढी (डडेल्धुरा) । स्वास्थ्य मन्त्री प्रदीप पौडेलले डडेल्धुरा अस्पतालमा सुरु भएको डायलाइसिस सेवाको आज उद्घाटन गर्नुभएको छ । आज एक कार्यक्रमबीच उहाँले अस्पतालको अनुगमन तथा निरीक्षण समेत गर्नुभयो ।

सङ्घीय सरकार मातहत रहेको डडेल्धुरा अस्पतालमा डायलाइसिस सेवा सञ्चालन भएपछि सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाका मिर्गौलाका बिरामीलाई धनगढी धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ । कार्यक्रममा मन्त्री पौडेलले अस्पताल व्यवस्थापनदेखि स्वास्थ्य बीमा, जनशक्ति र पूर्वाधारबारे आफ्नो धारणा राख्नुभयो ।

मन्त्री पौडेलले स्वास्थ्य बीमा बोर्डमार्फत डडेल्धुरा अस्पतालमा सेवा केन्द्र सञ्चालनमा समस्या आएको उल्लेख गर्दै सङ्घीय अस्पतालबाट प्रथम सेवा केन्द्र विन्दु उपलब्ध हुन नसक्ने प्रष्ट पार्नुभयो । उहाँका अनुसार यस विषयमा अस्पताललाई सङ्घ मातहत राख्ने कि प्रदेश मातहत राख्ने भन्ने विषयमा स्पष्ट निर्णय आवश्यक छ । यसका लागि स्थानीय तह र राजनीतिक दलले आफ्नो धारणा बनाउनुपर्ने उहाँको भनाइ थियो ।

मन्त्री पौडेलले भन्नुभयो, “स्थानीय तहले आधारभूत अस्पताल स्थापना गर्ने हो भने अहिले देखिएका धेरै समस्या समाधान हुन्छन् । आधारभूत अस्पतालका लागि भवन बनेका ठाउँमा मन्त्रालयले बजेटको व्यवस्था गर्छ । साथै छात्रवृत्तिबाट अध्ययन गरेका चिकित्सकलाई त्यही ठाउँमा पठाइन्छ ।”

डडेल्धुरा अस्पतालले स्वास्थ्य बीमावापत अझै रु दुई करोड पाउन बाँकी रहेको मन्त्री पौडेलले जानकारी दिनुभयो । उहाँले तीन सय शैययाका लागि दरबन्दी स्वीकृत भइसकेको बताउनुभयो । आगामी एक वर्षभित्र डडेल्धुरा लगायतका सबै अस्पताललाई पाँच सय शैययामा विस्तार गरिने घोषणा गर्नुभयो । रासस

Get real time updates directly on you device, subscribe now.

Comments are closed, but trackbacks and pingbacks are open.