२२ असोज, काठमाडौँ । नेपालमा गत २४ घण्टामा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो समय ४ जना महिला र ८ जना पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण सुनसरीमा ३९ वर्षीय पुरुष, धनुषामा ७० वर्षीय पुरुष काठमाडौँमा ७९ वर्षीय महिला तथा ५८ र ९१ वर्षीय पुरुषको मृत्यु भएको छ ।
त्यस्तै ललितपुरमा ७३ वर्षीय महिला, भक्तपुरमा ८२ वर्षीय महिला, चितवनमा ८१, ८१ र ९२ वर्षीय पुरुष, कास्कीमा ८३ वर्षीय पुरुष तथा सुर्खेतमा ८२ वर्षीय महिलाको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५९० पुगेको छ । संक्रमितमध्ये ०.६० प्रतिशतको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशभरी ४ हजार ३ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो हालसम्मकै उच्च हो । त्यस्तै २ हजार ६ सय ७५ जना संक्रमित निको भएका छन् ।