१२ वैशाख, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ३ हजार १२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ लाख ११९ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार ९ हजार २९२ पीसीआर परिक्षण गर्दा १ हजार १७८ जना महिला र १ हजार ८५४ जना पुरुष गरी ३ हजार ३२ र ७८६ एन्टिजेन परिक्षण गर्दा ९० जनामा कोरोना संक्रमण देखिएको हो ।
पछिल्लो २४ घण्टामा ४५० जना कोरोना संक्रमण मुक्त भएका छन् । त्यस्तै २४ घण्टा भित्रमा १६ जनाकोे कोरोना संक्रमणका कारण मृत्यु भएको छ भने २८ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म ३ लाख ११९ जना कोरोना भाइरसबाट संक्रमित बनेको सरकारी तथ्याङ्क छ । जसमध्ये २ लाख ७७ हजार ५७३ जना अर्थात ९२.५ प्रतिशत संक्रमण मुक्त भएका छन् भने ३ हजार १ सय ६४ जनाको मृत्यु भइसकेकोे छ ।