Nepal's Trusted Health Online Portal

नेपाल तामाङ घेदुङले कोरोना नियन्त्रणका लागि स्वास्थ्य अभियान सुरु गर्ने

Get real time updates directly on you device, subscribe now.

८ जेठ, काठमाडौं । कोरोना महामारीले गाउँ गाउँमा समेत आक्रान्त पार्न थालेपछि नेपाल तामाङ घेदुङले तामाङ चिकित्सक समाजसँग मिलेर कोरोना स्वास्थ्य अभियान सुरु गर्ने भएको छ । जेठ ७ गते सचिवालयको जुम भर्चुअल छलफलपछि घेदुङले यो अभियान सुरु गर्ने भएको हो ।

अस्पतालमा बेड नपाईने र घरमा बसेका संक्रमितहरू अकालमै उपचार नपाई मृत्यु भएको घटनाले हामीलाई अत्यन्तै दुःखी बनायो, घेदुङका महासचिव बाबु घिसिङले भने– यस्तो विषम परिस्थितिमा एउटा सामाजिक संस्थाको अभियन्ताहरू चुप लागेर बस्न नसकेपछि यो अभियान सुरु गर्न लागेका हौ ।

यो अभियानको लागि घेदुङले विपद् व्यवस्थापन कोष खडा गरेको छ । पहिलो चरणमा यस कोषमा घेदुङकै पदाधिकारी, सचिवालय र शुभेच्छुक व्यक्तिहरूबाट संकलित ५० हजार राशीको कोष खडा गरेको कोषाध्यक्ष रुपबहादुर योन्जनले बताए । उनले भने, सुरुमा कोष खडा गर्नको लागि हामीबाटै यो रकम संकलन गरेका हौ, बिस्तारै विदेश स्थित तामाङ संघ, संस्था र शुभेच्छुक व्यक्तिहरू लगायत अन्य दाता महानुभावहरूलाई समेत अनुरोध गर्नेछौ ।

सचिवालयको छलफलले सहयोगको लागि स्वदेशमा नेपाल तामाङ घेदुङको विपद् व्यवस्थापन समितिका संयोजक रामकृष्ण ब्लोन र विदेशको लागि अन्तर्राष्ट्रिय तामाङ परिषद्का वरिष्ठ उपाध्यक्ष टासी लामालाई संयोजनको लागि अनुरोध गरेको छ ।

सङ्घीय सचिवालयले सञ्चालन गर्ने स्वास्थ्य अभियानको प्रचार, प्रसार लगायतको कार्य गर्न तामाङ सञ्चार समूहमा आबद्ध पत्रकारहरू र यसको संयोजकनकारी भूमिका निर्वाह गर्न सञ्चार विभाग प्रमूख जगत दोङलाई जिम्मेवारी दिएको छ ।

कोषमा संकलित रकमले आवश्यक स्वास्थ्य सामाग्री खरिद गर्ने र अस्पतालमा गई उपचार गर्न नसक्ने तथा आर्थिक अवस्था कमजोर रहेका संक्रमितलाई तामाङ चिकित्सक समाजबाट सहयोग पुर्‍याउने घेदुङले जनाएको छ ।

महामारीको बेलामा मानवीयताको नाताले केही सहयोग पुर्‍याउँ भन्ने उद्देश्यबाट यो अभियानमा लागेको तामाङ चिकित्सक समाजका अध्यक्ष डा. दिल बहादुर थोकरले बताए । उनले आफूहरूले संक्रमितलाई आवश्यक स्वास्थ्य सामाग्री र परामर्श सहित ग्रामिण क्षेत्रमा पुगेर निशुल्क सेवा पु¥याउने बताए ।

डा. थोकर हाल दोलखा जिल्लाको ग्रामिण वस्तीमा पुगेर सेवा पुर्‍याइरहेका छन् भने चिकित्सक समाजमा आबद्ध अन्य डाक्टरहरू समेत विभिन्न क्षेत्रमा रहेर सेवा पुर्‍याइरहेको समाजले जनाएको छ ।

घेदुङले गत वर्ष पनि कोरोना महामारीको बेलामा विपद् व्यवस्थापन कोषमार्फत केही ठाउँमा खाद्यान्न वितरण र पुरातात्विक अनुसन्धान विभागमार्फत पत्रकार कोरोना बिमा जस्ता सेवामूलक कार्य सञ्चालन गरेको थियो ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.