२ असार, काठमाडौं । चरिकोट अस्पतालको नाम परिवर्तन गरि पशुपति चौलागाई स्मृति अस्पताल राखिने भएको छ । बागमती प्रदेश सरकारले दोलखा स्थित चरिकोट अस्पतालको नाम रुपान्तरण गर्दै पशुपति चौलागाई स्मृति अस्पताल राख्ने निर्णय गरेको हो ।
बागमती प्रदेशको प्रदेश सभा सदस्य समेत रहेका स्वर्गीय चौलागाईको स्मृतिमा अस्पतालको नामाकरण गरिने भएको हो । एमाले नेता चौलागार्इँको गत जेठमा कोरोना संक्रमणका कारण निधन भएको थियो ।
आर्थिक वर्ष २०७८/७९ को बजेट भाषणमा प्रदेश सरकारका अर्थमन्त्री कैलाश ढुंगेलले सो अस्पतालको नाम पशुपति चौलागाई अस्पताल नामाकरण गरिने बताएका हुन् । अस्पताललाई प्रदेश अस्पतालको रुपमा समेत स्तरोन्ति गरिने उनले बताए ।
भिमेश्वर नगरपालिका वार्ड नं ४ मा अवश्थित उक्त अस्पताल २०७२ को भूकम्पपश्चात न्याय हेल्थ नामक संस्थाले दक्ष चिकित्सकसहितको व्यवस्थापनमा सञ्चालन गर्दै आएकोमा भिमेश्वर नगलपालिकाले प्रदेशस्तरीय अस्पतालको रुपमा चरिकोट अस्पतालको नाममा प्रस्ताव गरेको थियो ।
अस्पतालमा हाल दक्ष चिकित्सकसहितको प्रसूति सेवा, ओपिडी सेवा, शल्यक्रिया र एचडियु सेवा समेत सञ्चालनमा छ ।