५ माघ, काठमाडौं । नेपालमा कोरोना संक्रमण दरले दिनहुँ नयाँ रेकर्ड कायम गर्न थालेको छ । बुधबारको संक्रमणदर हालसम्मकै उच्च भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समीर कुमार अधिकारीले जानकारी दिए ।
डा. अधिकारीका अनुसार पछिल्लो २४ घण्टामा मात्रै ११ हजार ३५२ जनालाई संक्रमण पुष्टि भएको छ । यसअघि मंगलबार १० हजार २५८ जनामा संक्रमण भएको थियो ।
गत २४ घण्टामा १८ हजार ७८ आरटी पीसीआर विधी र ५ हजार ३३१ एन्टिजेन गरी जम्मा २३ हजार ४०९ नमुना परीक्षण गरिएकोमा ११ हजार ३५२ नमुनाको नतिजा पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म कोरोना संक्रमण केस ९ लाख ७९ हजार ९९७ पुगेको छ । संक्रमितमध्ये ८ लाख १८ हजार १६० केस संक्रमणमुक्त भएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ६२८ पुगेकोे छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ६१३ जना कोरोना संक्रमण मुक्त भएका छन् । संक्रमितमध्ये ९३.१ प्रतिशत संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ । बुधबार देशभर सक्रिय संक्रमितको संख्या ४७ हजार ९२९ जना पुगेको छ ।