५ माघ, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सिटामोल लुकाउने फार्मेसीलाई जरिवाना गरेको छ । बिरामी ग्राहकलाई सिटामोल बिक्री नगर्ने सातदोबाटोस्थित गोसाइकुण्ड स्वास्थ्य सेवा केन्द्रलाई १० हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ ।
गोसाइकुण्ड स्वास्थ्य सेवा केन्द्रले गोदाममा भएर पनि बजारमा अभाव भएको भन्दै सिटामोल बिक्री नगरेको पाइएको विभागले जनाएको छ ।
विभागका निरीक्षण अधिकृत धनेश्वर पौडेलका अनुसार विभागको छड्के कारवाहीका क्रममा ग्राहकलाई सिटामोल छैन भनेको तर फार्मेसीको गोदाममा भने सिटामोल भेटिएको थियो ।
‘केही दिनदेखि बजारमा सिटामोलको माग उच्च भएपछि फार्मेसीले छैन भन्दै ग्राहक फर्काउन थालेका रहेछन्,’ पौडेलले भने, ‘तर, गोदाममा भने सिटामोल भेटियो ।’
औषधी जस्तो संवेदनशील वस्तुको कार्टेलिङ गरेको आरोपमा विभागले फार्मेसीलाई तत्काल १० हजार रुपैयाँ नगद जरिवाना र सचेत गराउने काम गरेको पौडेलले बताए ।
केही दिनयता ज्वरोको बिरामी बढेका कारण बजारमा सिटामोलको माग उच्च भएको छ । त्यसैको मौका छोपी सिटामोल लुकाएको गुनासोपछि बजार अनुगमनलाई तीव्र पारिएको विभागले जनाएको छ ।