२५ साउन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप ८६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभर ६ हजार ७०५ नमुना परीक्षण गरिएकोमा ८६८ नमुनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ हजार ६१४ आरटी पीसीआर गर्दा ४९६ र ३ हजार ९१ एन्टिजेन विधिबाट परीक्षण गर्दा ३७२ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ४१४ जना भने संक्रमणमुक्त भएका छन् ।
नेपालमा हालसम्म कोरोना संक्रमण केस आरटी पीसीआर विधिबाट ९ लाख ९१ हजार ६८१ र एन्टिजेन विधिबाट १ लाख ४५ हजार ९४९ पुगेको छ । संक्रमितमध्ये ९ लाख ७३ हजार ८१९ केस संक्रमणमुक्त भएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ३ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोनाका कारण ११ हजार ९७७ जनाले ज्यान गुमाएका छन् । संक्रमितमध्ये ९८.२ प्रतिशत निको भएका छन् भने १.२ प्रतिशतको मृत्यु भएको छ ।
अब देशभर ५ हजार ८८५ कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।