११ फागुन, काठमाडौं । नेकपा एमालेले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतको राजीनामा माग गरेको छ । शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै एमालेका सचिव योगेश भट्टराईले स्वास्थ्य मन्त्रीसहितका तीन जना मन्त्रीहरुको राजीनामा मागेका हुन् ।
एमालेले स्वास्थ्यमन्त्रीसहित पर्यटनमन्त्री सुदन किराती र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको समेत राजीनामा मागेको छ ।
एमालेले टेरामक्स घोटाला प्रकरणमा मुछिएका कारण स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको राजीनामा माग गरेको हो ।
त्यस्तै बालकुमारी घटनामा मुख्य जिम्मेवार देखिएका कारण भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र लुम्बिनीको रामग्राम क्षेत्रलाई लिजमा दिने निर्णयका कारण पर्यटनमन्त्री सुदन किरातीको राजीनामा मागेको हो ।
स्वास्थ्यमन्त्री बस्नेतलाई टेरामक्स घोटाला प्रकरणमा तत्कालिन सञ्चार मन्त्रीको रुपमा अख्तियारले बयान लिएको थियो ।
‘झण्डा हल्लाएर अख्तियारको अफिसमा बयान दिन गएका मन्त्री सम्भवतः उहाँ पहिलो होला ।’ भट्टराईले भने ‘अख्तियारले बयान लिएको छ भने त्यो मन्त्री फेरि पदमा बहाल हुने कुरा हामीलाई किमार्थ स्वीकार्य छैन ।’
संसदमा बोल्ने क्रममा भट्टराईले थपे ‘यो नैतिक प्रश्न हो । त्यसमा कोको तानिन्छन् लेखा समितिले छानविन गर्न भनेको छ छानबिन हुँदै जाला तर बहालवाला मन्त्री झण्डा हल्लाएर अख्तियारमा बयान दिन जाने अनि छानबिनलाई पनि अगाडि बढाउने हो भने छानबिन प्रक्रिया पनि प्रभावित हुन्छ । त्यसकारण निष्पक्ष ढंगले अगाडि बढाउन आजका स्वास्थ्य मन्त्रीजी पदमा बस्न मिल्दैन भन्ने हाम्रो भनाइ हो ।’
एमाले सचिव भट्टराईले तीन जना मन्त्रीहरुकाबारे प्रधानमन्त्रीले आजकै बैठकमा आएर जवाफ दिनुपर्ने माग गरे ।
बालकुमारी घटनाको उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नैतिक जिम्मेवारी लिनुपर्ने भन्दै एमालेले ३ जना मन्त्रीको राजीनामालाई बटमलाइन बनाएको छ ।