Nepal's Trusted Health Online Portal

कटन क्यान्डी खाँदा क्यान्सर हुने डर, भारतका केही स्थानमा प्रतिबन्ध

Get real time updates directly on you device, subscribe now.

के कटन क्यान्डीले क्यान्सर गराउँछ?

भारतका केही राज्यमा कटन क्यान्डी खाँदा क्यान्सर हुन्छ भन्ने ठानिन्छ। अनि तिनले चिनीजस्तै गुलियो हुने गुलाबी रङ्गको कटन क्यान्डीको बिक्रीमा प्रतिबन्ध लगाएका छन्।

गत साता दक्षिण भारतीय राज्य तमिलनाडुले कटन क्यान्डी बेच्न रोक लगाउने निर्णय गर्‍यो।

उक्त राज्यमा परीक्षणका लागि प्रयोगशालापठाइएका नमुनाहरूमा क्यान्सर लगाउन सक्ने तत्त्व ‘रोडमाइन-बी’ भेटिएपछि कटन क्यान्डीको बिक्रीमाथि प्रतिबन्ध लगाइएको हो।

यसै महिनाको सुरुमा दक्षिण भारतकै पन्डीचेरीले पनि कटन क्यान्डीको बेचबिखनमा रोक लगाएको थियो।

पन्डीचेरी केन्द्रशासित प्रदेश हो।

अन्य राज्यले पनि परीक्षण गर्दै

अहिले अन्य राज्यहरूले पनि कटन क्यान्डीको परीक्षण गर्न थालेका छन्।

कटन क्यान्डीलाई भारतमा “बुढिया का बाल” पनि भनिन्छ। उक्त मिठाई हेर्दा कपाल गुजुल्टो पारेको जस्तो देखिने भएकाले त्यसो भनिएको हो।

बालबालिकालले कटन क्यान्डी निकै मन पराउँछन्।

यो मिठाई मनोरञ्जनस्थल, मेला र महोत्सवहरूमा धेरै बिक्री हुने गर्छ। रङ्गीन र मुखमै बिलाउने भएकाले बालबालिकाले यो निकै रुचाउँछन् ।

किन घातक?

तर केही भारतीय अधिकारीहरू उक्त पदार्थ सोचेभन्दा निकै घातक हुने ठान्छन्।

तमिलनाडुको चेन्नई सहरस्थित खाद्य सुरक्षा अधिकृत पी सतीश कुमारले इन्डियन एक्सप्रेस पत्रिकालाई कटन क्यान्डीमा भएको मिसावटले “क्यान्सर गराउन र शरीरका सबै अङ्गहरूलाई प्रभाव पार्न सक्ने” बताएका छन्।

उनको टोलीले गत साता उक्त सहरमा समुद्री तटमा छापा मारेको थियो।

उनले उक्त सहरमा बिक्री भइरहेको कटन क्यान्डी दर्ता भएका कारखानाहरूमा नभई घरेलु रूपमा उत्पादन भइरहेको बताए।

तस्वीरः रोयटर्स

त्यसको केही दिनपछि सरकारले कटन क्यान्डीको बिक्रीमा रोक लगायो।

उसले कटन क्यान्डीका नमुनाहरूमा रोडमाइन-बी नामक रासायनिक पदार्थ पाइएपछि बिक्रीमा प्रतिबन्ध लगाएको बताएको छ।

गुलाबको जस्तो रङ्ग दिने उक्त पदार्थ कपडाहरू रङ्गाउन तथा सौन्दर्य प्रशासनका सामग्री र मसी बनाउन प्रयोग हुने गर्छ।

क्यान्सरको जोखिम

तस्वीरः इपीए

विभिन्न अध्ययनहरूले उक्त रसायनले क्यान्सरको जोखिम बढाउने देखाएका छन्। युरोप एवं अमेरिकाको क्यालिफोर्नियामा खाद्य पदार्थहरू रङ्गाउन त्यसको प्रयोग निषिद्ध छ।

तमिलनाडुमा कटन क्यान्डी ब्रिकीमा प्रतिबन्ध लगाउँदै त्यहाँका स्वास्थ्यमन्त्री मा सुब्रमण्यमले एउटा विज्ञप्ति निकालेका छन्।

“प्याकिङ, आयात, खानेकुराको बिक्री र विवाह वा अन्य सार्वजनिक समारोहमा वितरण हुने खानेकुरामा यो (रोडमाइन-बी) पाइए त्यो खाद्य सुरक्षा तथा मापदण्ड ऐन-२००६ अनुसार दण्डनीय हुने छ,” विज्ञप्तिमा लेखिएको छ।

तमिलनाडुको सिको गर्दै छिमेकी राज्य आन्ध्र प्रदेशले पनि कटन क्यान्डीका नमुनाहरू सङ्कलन गरेर क्यान्सर लगाउन सक्ने कारकहरूको जाँच गर्न थालेको बताइएको छ।

न्यू इन्डिया एक्सप्रेस पत्रिकाले यसै साताको सुरुमा दिल्लीका खाद्य सुरक्षा अधिकारीहरूले पनि कटन क्यान्डीमा प्रतिबन्ध लगाउन दबाव दिइरहेको खबर छापेको थियो। बीबीसी

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.