११ फागुन, काठमाडौं । राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्वको राष्ट्रिय पत्रकारिता पुरस्कार यस बर्ष पवित्रा सुनारलाई प्रदान गरिएको छ ।
राधा क्यान्सर सचेतना फाउण्डेसनद्वारा स्थापित अक्षयकोषबाट हरेक बर्ष प्रदान गरिने २० हजार रुपैयाँ राशीको उक्त पुरस्कार यस वर्ष नागरिक दैनिककी सुनारलाई प्रदान गरिएको हो ।
बुधवार नवलपुर कावासोती-२ मा आयोजित एक समारोहका बीच सो पुरस्कार प्रदान गरिएको हो । सुनारले एक वर्षभित्र क्यान्सर सम्बन्धी
लेखिएका समाचार मध्येमा छनौटमा परे वापत सो पुरस्कार प्रदान गरिएको फाउन्डेलनले जनाएको छ ।
सुनारले बिगत १६ वर्षदेखि स्वास्थ्य पत्रकारितामा कलम चलाउँदै आएकी छिन । स्वर्गीय राधाले आफुलाई क्यान्सर लागिसकेपछि पनि क्यान्सर सचेतना अभियान सुरू गरेकी थिइन्। २०४८ सालमा जन्मिएकी पत्रकार राधा बस्यालको २०७७ कार्तिक १४ गतेका दिन स्तन क्यान्सरको कारणले निधन भएको थियो ।
एकदशक भन्दा लामो समयदेखि नवलपुरमा रहेर पत्रकारिता गर्दै आएकी राधाले उक्त अभियान तथा पुरस्कार कार्यक्रम सुरू गरेकी हुन् । दिदीको अभियानलाई उनको भाई प्रकाश वस्यालले निरन्तरता दिएका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी गण्डकी प्रदेश सभा सदस्य बिन्दु पौडेलले क्यान्सर न्युनिकरण गर्न सबै एकजुट हुनुपर्ने बताइन् । खानपानकै कारण क्यान्सरलगायतका नसर्ने रोगको जोखिम बढ्ने भएकाले सर्वसाधारणलाई सचेत गराउन आवश्यक रहेको उनको भनाइ छ । उनले क्यान्सर सचेतना तथा हिंसा न्युनिकरणमा संस्थाले गरेको कामको प्रसंसा गरिन्। उनले पुरस्कार रासी बढाउन तथा संस्थालाई बलियो बनाउन आफुले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरिन् । क्यान्सर पिडितहरुलाई सरकारले दिने रकम बढाउन आफुले पहल गर्ने उनले बताइन् ।
सोही क्रममा बोल्दै प्राकृतिक चिकित्सालय रजहरका निर्देशक डा. विनोद पौडेलले जीवनशैली परिवर्तन् गर्न सकेमा क्यान्सरजन्य रोग नियन्त्रण गर्न सकिनेमा जोड दिए । उनले करिब ९० प्रतिशत मानिस खानपानमा ध्यान नदिँदा क्यान्सरजस्तो घातक रोगको सिकार भएको बताए । स्वस्थ जिवनशैली अपनाउने र निरन्तर योग र ध्यान गर्न सकेमा नसर्ने रोगको जोखिम कम गर्न सकिने उनले बताए ।
पछिल्लो समयमा महिलाहरुको स्तन, पाठेघर क्यान्सर पनि बढ्दो रहेकाले यसबारे जनचेतना जगाउन सकेमात्र पनि क्यान्सरका बिरामीको सङ्ख्या कम हुने चिकित्सकहरूको भनाइ छ ।
सोही क्रममा कावासोती नगरपालिका २ का वडाध्यक्ष शिव पाण्डे, नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष नारायण शर्मा लगायतले स्वर्गीय राधा बस्यालले लामो समयसम्म पत्रकारितामा पुर्याएको योगदानको चर्चा गर्दै क्यान्सर जस्तो भयावह रोगबाट बच्न जनस्तरमा जनचेतना फैलाउन आवश्यक रहेको बताए । आफू रोगसँग लडिरहेको अवस्थामा पनि समाजप्रति गरेको उहाँको योगदानलाई भुल्न नहुने भन्दै क्यान्सर तथा हिंसामा परेका व्यक्तिको पत्रकारिताबाट नै न्यूनीकरण गर्न सकिने भनाई छ । ।
कार्यक्रममा फाउण्डेसनका अध्यक्ष प्रकाश बस्यालले सरकारले क्यान्सर पीडितलाई उपचारकालागि दिने रकम बढाउनुपर्नेमा जोड दिए । उनले क्यान्सरको उपचार महंगो भएकाले सरकारले दिने एक लाख रुपैँया कम भएको बताए । सरकारले क्यान्सर पीडितको तथ्याङ्क नहुँदा नीति समेत बन्न नसकेको पनि उनले बताए । साथै सूर्तिजन्य पदार्थको करबाट संकलन भएको रकम क्यान्सर सचेतनामा लगाउनुपर्ने उनको भनाई छ ।