२३ चैत, काठमाडौं । राजधानीमा बालबालिकाको मस्तिष्क तथा शारीरिक विकासका लागि न्यूट्रिसन तथा मनोवैज्ञानिक तालिम सम्पन्न भएको छ । राम्रो पोषण नपाएको अवस्थामा साना बालबालिकाहरू उच्च जोखिममा पर्न सक्छन् । खासगरी मस्तिष्क विकासको मुख्य समय भएकोले पूर्व प्राथमिक विद्यालयका बालबालिकाहरूलाई संवेदनशील भई उत्तम आहार तथा आहार चयन सम्बन्धी व्यवहारमा सहयोग गर्न अति आवश्यक हुन्छ। सुनौलो हजार दिन जसमा बच्चा पेटमा भएदेखि नै गिन्ती हुन्छ , यस अवस्थामा बच्चालाई कस्तो आहारा आवश्यक हुन्छ र आहार नपुगेको खण्डमा कस्ता समस्याहरू देखिन सक्छन् आदि विषयको जानकारी शिक्षक तथा अभिभावकहरूमा पुग्नु अत्यन्तै महत्वपूर्ण हुन्छ। दुई वर्षसम्ममा बालबालिकाको ८०% मस्तिष्क विकास भइसकेको हुन्छ यस्तो अवस्थामा आहारको विषयलाई लिएर हेलचेक्राई गर्नु जोखिमलाई निम्त्याउने कार्य हुन सक्छ।

