१४ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले लक्षित वर्गका व्यक्तिहरुले महानगर भित्रका ५२ ओटा अस्पतालमा निशुल्क उपचार प्राप्त गर्न सकिने बताएका छन् ।
मेयर शाहले एक भिडियो सन्देश जारी गर्दै विपन्न, असहाय र बेवारिसे बिरामीहरुका लागि निःशुल्क उपचार गर्न काठमाडौं महानगरको प्रणालीमा ५२ ओटा अस्पतालहरु आवद्ध भएको जानकारी दिए । अब एकैपटकमा ३७४ शय्या लक्षित वर्गको उपचारका लागि उपलब्ध हुने साहको भनाई छ ।
‘नागरिकलाई राज्यबाट आधारभुत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने, कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट बञ्चित नगर्ने, हरेक नागरिकले स्वास्थ्य सेवामा समान पहु्ँच पाउने अधिकार संविधानले सुनिश्चित गरेको छ ।’ मेयर शाहले भने ‘स्वास्थ्य सम्बन्धी नागरिकका यी आधारभुत अधिकारको प्रत्याभुतिका लागि काठमाडौं महानगरपालिकाले निशुल्क उपचार कार्यविधी ल्याएको छ ।’
मेयर शाहले अब विपन्न, असहाय तथा बेवारिसे बिरामी हो भन्ने कागज भएपछि कसैलाई भनसुन गरिराख्नु नपर्ने बताए । उनले भने ‘कसैलाई नभेटी, भन्न नलगाई अस्पतालमा आफ्नो गरिबी तथा विपन्नको परिचयपत्र देखाएपछि अस्पतालको कुल शय्यामध्येका १० प्रतिशत शय्या सो लक्षित वर्गका लागि उपलब्ध हुनेछ ।’
पहिला आफुले कुन रोगको उपचार गर्न खोजेको र त्यो रोगको उपचार कुन अस्पतालमा गरिन्छ भन्ने एक्किन गरिनुपर्ने र त्यसका लागि freehealth.kathmandu.gov.np बाट एक्किन गर्न सकिने पनि मेयर शाहले जानकारी दिए । उक्त वेभसाइटमा कस्ता रोगको उपचार कुन अस्पतालमा हुने देखि उपचारमा जाँदा कस्ता कागजात लिएर जाने भन्ने जस्ता विवरणसमेत राखिएको छ । निःशुल्क उपचारका लागि सम्बन्धित अस्पतालका अधिकारीको नाम र नम्बरसमेत वेभसाइटमा नै राखिएको छ ।
काठमाडौं महानगरलगायत देशैभरीका सम्बन्धित वडाबाट गरिब, विपन्न तथा असहाय भएको परिचयपत्र लिन सकिने मेयर शाहले जानकारी दिए । यदि सम्बन्धित वडाबाट परिचयपत्र लिन नसकिरहेको अवस्था भएमा गरिब, विपन्न तथा असहाय पुष्टि हुने आधार भएमा काठमाडौं महनगरको निःशुल्क उपचार सम्बन्धी शाखामा सम्पर्क गर्न सकिने छ ।
झुटो प्रमाण पेश गरेर परिचय पत्र बनाएमा वा यस कार्यक्रममार्फत उपचार सेवा लिएमा उपचार लिने तथा सेवा दिने अस्पताल समेत कार्वाहीको भागिदार हुने पनि शाहले बताए ।
मेयर शाहले विगतमा कार्यान्वयन हुन नसकिरहेको यस व्यवस्थालाई कार्यान्वयनमा ल्याउन सहयोग गरेको भन्दै प्रणालीमा आवद्ध सबै अस्पतालहरुलाई धन्यवाद दिएका छन् । उनले हाल यस कार्यक्रममा आवद्ध नभएका अस्पतालहरुलाई समेत आवद्ध हुन अनुरोध गरे ।