२२ साउन, काठमाडौँ । राष्ट्रिय सभा सदस्य घनश्याम रिजालले सम्पूर्ण सरकारी अस्पताललाई सर्वसाधारणको सहज पहुँचको अस्पताल बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रिय सभाको सोमबारको बैठकमा बोल्दै रिजालले सरकारी अस्पतालको सेवा सुधार गर्दै सामान्य नागरिकको सहज र सर्वसुलभ पहुँच स्थापित गर्न माग गरे ।
‘नेपालको संविधान २०७२ ले स्वास्थ्यसम्बन्धि हकलाई मौलिक हकको रुपमा ग्यारेन्टी गरेको छ तर अहिले स्वास्थ्य क्षेत्रमा रहेको बेथिति र सामान्य नागरिकको स्वास्थ्यमा पहुँचको कुरा गर्ने हो भने असाध्यै दुःखदायी अवस्था छ’, रिजालले भने ‘संविधानले आम नागरिकलाई सहज स्वास्थ्य सेवाको ग्यारेन्टी गरेपनि आम नागरिकले यो सेवा पाउन सकिरहेका छैनन् ।’
नेपाल सरकारअन्तर्गत रहेका सबै अस्पताल सर्वसाधारणको पहुँचको अस्पताल भएपनि कतिपय प्रादेशिक तथा जिल्ला अस्पतालहरूमा पर्याप्त आवश्यक संरचना र स्वास्थ्यकर्मीको अभावका कारण राजधानीका टिचिङ, वीर लगायतका ठूला अस्पतालहरूमा बिरामीको चाप थेगी नसक्नु रहेको रिजालको भनाई छ ।
सरकारी अस्पतालहरूका इमर्जेन्सीमा समेत बेड पाउन नसकी एउटै बेडमा दुई–तीन जनासमेत राखेर उपचार गर्नुपर्ने बाध्यता विद्यमान रहेको सांसद रिजालले औँल्याए ।
‘अस्पतालमा भर्ना भएर उपचार गर्नुपर्ने बिरामीको लागि सामान्य बेडलगायत आइसियू, सिसियू सुविधा पाउन कठिनाई छ’, सांसद रिजालले थपे ‘कतिपय अवस्थामा आइसियू, सिसियू खाली भएपनि सर्वसाधारणलाई सहज रुपमा उपलब्ध हुन्न तर पहुँचवालाको लागि सहज छ, भनसुनका आधारमा यो सेवा उपलब्ध हुन्छ ।’
रिजालले यही बेथितिकै कारण जटिल तथा सामान्य उपचारका लागि समेत सर्वसाधारण बिरामीहरू निजी अस्पताल जानैपर्ने बाध्यता रहेको उल्लेख गरे ।
‘निजी अस्पतालको लुट कस्तो छ ? हामीले भोगेका छौँ’, सांसद रिजालले भने ‘स्वास्थ्य क्षेत्रमा विद्यमान यी अवस्थाको अन्त्य तथा आम नागरिकको सहज र सर्वसुलभ स्वास्थ्य सेवा पाउने अधिकार र सरकारी अस्पतालहरूको सेवा पाउने अधिकारको ग्यारेन्टीका लागि सरकारी अस्पतालको सेवामा सुधार गर्दै तत्काल सेवा अनुगमन गरी सरकारी अस्पतालहरूलाई सर्वसाधारणको अस्पताल बनाउन गर्नुपर्ने सबै कार्य गर्न सरकारको ध्यानाकर्षण गराउन चाहान्छु ।’
फरक प्रसङ्गमा उनले संविधान संशोधनको पक्षमा नेपाली जनता नभएको भन्दै सरकारले संविधान संशोधनको कुरा ल्याएर देशलाई द्वन्द्व र अस्थिरतातर्फ लान खोजिरहेको आरोप लगाए ।
‘मङ्सिर २०७९ मा भएको चुनावमा संविधान संशोधनको एजेण्डा लिएर गएका थिएनौँ’, उनले भने ‘दुईओटा गठबन्धन बनाएर सरकार चलाउनको लागि म्यान्डेड मागेका थियौँ त्यो म्यान्डेड पनि लत्याएर कहिले यता र कहिले उता गरी सरकार बनिरहेको छ ।’