२७ साउन । भरतपुर महानगरपालिकालाई पूर्णखोप दिगोपना सुनिश्चित पालिका घोषणा गरिएको छ । महानगरमा आज आयोजित एक कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख नारायणप्रसाद अधिकारीले पालिकालाई पूर्णखोप दिगोपना सुनिश्चित पालिका घोषणा गरेका हुन् ।
महानगरपालिकाभित्र रहेका ३१ हजार आठ सय ११ परिवारका १७ हजार ९४ बालबालिकामध्ये १२ हजार नौ सय ९८ बालबालिकाले पूर्णखोप पाएका छन् । १६ महिनादेखि ५९ महिनासम्मका ती बालबालिकाले पूर्णखोप पाएको र चार हजार तीन सय ३१ बालबालिका खोप लगाउने चरणमा नै रहेको महानगर जनस्वास्थ्य प्रवर्द्धन शाखा प्रमुख दीपक सुवेदीले जानकारी दिए ।
उहाँका अनुसार घरधुरी सर्वेक्षणका क्रममा छ जना बालबालिकाले कुनै पनि खोप नलगाएको र दुई सय २९ बालबालिकाले आंशिक खोप लगाएको पाइएको थियो । ती बालबालिकालाई आवश्यक खोपको मात्रा पूरा गराएर पूर्णखोप दिगोपना सुनिश्चित पालिका घोषणा गरिएको हो । समन्वय प्रमुख अधिकारीले प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्दै पूर्णखोप दिगोपना सुनिश्चितता पालिका घोषणा गरेका हुन् । उहाँले सबैको प्रयासले महानगरलाई पूर्णखोप दिगोपन सुनिश्चित पालिका घोषणा गर्न सफल भएको बताए ।
“पूर्णखोपयुक्त पालिका घोषणा गर्न सबैको उत्तिकै जिम्मेवारी रहेको छ । घोषणापछि पुनः यसलाई कायम राख्नका लागि सबैको सक्रियता आवश्यक पर्ने भएकाले सोहीअनुसार भूमिका अपेक्षा गरेका छौँ”, उहाँले भन्नुभयो । महानगर प्रमुख रेनु दाहालले बालबालिकालाई पूर्णखोप दिएर स्वस्थ राख्ने पालिकाको जिम्मेवारी रहेको र शारीरिक तथा मानसिकरुपमा स्वस्थ राख्नका लागि आफ्ना बालबालिकालाई खोप अनिवार्य लगाउन आग्रह गर्नुभयो । दाहालले भनिन्, “महानगरले स्वास्थ्यका क्षेत्रमा एक वडा एक स्वास्थ्य कार्यालय अवधारणाअनुसार आवश्यक कार्य अघि बढाएको छ । आधारभूत स्वास्थ्य सेवा सबैको घरदैलोमा पुर्याउन मेयरसँग महिला जस्ता कार्यक्रम सञ्चालन गर्दै आएका छौँ ।”
महानगर उपप्रमुख चित्रसेन अधिकारीले बालबालिका स्वस्थ रहेमा भविष्य उज्ज्वल हुने बताए । उनले अभियानलाई निरन्तरता दिन सबैको सहयोग आवश्यक रहेकामा जोड दिए। भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल, जनस्वास्थ्य कार्यालय चितवनका निमित्त प्रमुख इन्द्रमणि भण्डारी, भरतपुर महानगरपालिकाको सामाजिक महाशाखा निर्देशक शान्ताकुमारी पौडेललगायतले धारणा राखेका थिए । महानगरपालिकालाई यसअघि वि.सं.२०७४ मा पनि पूर्णखोप घोषणा गरिएको थियो । रासस