Nepal's Trusted Health Online Portal

देशभरका ३० जनामा हैजा पुष्टि

Get real time updates directly on you device, subscribe now.

२२ साउन, काठमाडौँ । देशभर ३० जनामा हैजा पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क अनुसार देशभर हालसम्म ३० जनामा हैजा पुष्टि भएको हो ।

हालसम्म ४ जिल्लामा हैजाको संक्रमण देखिएको छ । हैजा देखिएकाहरुमा सबैभन्दा बढी ललितपुर जिल्लाका रहेका छन् । ललितपुरमा १० जनामा हैजा पुष्टि भएको छ । त्यसै गरी कैलालीका ८ जना, प्युठानका २ जना र काठमाडौँका १ जनामा हैजा पुष्टि भएको छ ।

हैजा पुष्टि हुनेमा १८ जना पुरुष तथा १२ जना महिला रहेका छन् । त्यसैगरी आठ जना १४ वर्ष मुनिका बालबालिका रहेका छन् ।

दूषित पानी, बासी खानेकुरा, नपकाएको खानेकुरा, सङ्क्रमित व्यक्तिले हात नधोई छोएको सामानहरुको माध्यमबाट हैजा सर्दछ ।

झाडापखाला निरन्तर लाग्ने हुँदा शरीरमा पानीको मात्रा घट्न गई केही घण्टाभित्रै जलवियोजन तथा इलेक्ट्रोलाइटको कमी हुने चिकित्सकहरु बताउँछन् । जलवियोजनका कारण तौल घट्ने, पेट दुख्ने, आँखा गढ्ने, छाला चिसो हुने, हातगोडा चाउरी पर्ने, छाला नीलो हुने जस्ता लक्षण देखिन्छन् ।

हैजा लाग्न नदिनका लागि पानी उमालेर वा क्लोरिन झोलको प्रयोग गरेर पिउने, व्यक्तिगत सरसफाइमा ध्यान दिने, बासी सडेगलेका खानेकुरा नखाने, खाना छोपेर राख्ने, काँचै खान मिल्ने फलफूल र तरकारीको सफाइलाई विशेष ध्यान दिन चिकित्सकहरुको सुझाव छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.