१६ जेठ, काठमाडौँ । सरकारले स्वास्थ्य बीमा कार्यक्रमका लागि १० अर्ब बजेट विनियोजन गरेको छ ।
आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वास्थ्य बीमा कार्यक्रमका लागि १० अर्बको बजेट व्यवस्था गरेको बताए हुन् ।
बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले स्वास्थ्य बीमा कार्यक्रमको पुनःसंरचना गरिने जानकारी दिए । ‘स्वास्थ्य बीमा कार्यक्रमको पुनःसंरचना गरिने छ, यस सम्बन्धी कानूनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन र दायरा विस्तार गरिनेछ ।’ अर्थमन्त्री पौडेलले भने ‘बीमितहरूको सुविधा थैली क्रमशः वृद्धि गर्दै लगिनेछ, सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमलाई स्वास्थ्य बीमामा एकीकृत गरिनेछ ।’
सरकारले बीमितहरूलाई फरक फरक पोलिसी छनौटको सुविधा समेत उपलब्ध गराउने भएको छ । बीमा सुविधाको दुरूपयोग हुन नदिन दोहोरोपना हटाइने र चुहावट नियन्त्रण र संस्थागत सुशासन कायम गरिने पनि अर्थमन्त्री पौडेलले बताए ।
त्यस्तै ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, दलित, अति विपन्न तथा अल्पसंख्यक समुदायको बीमा सुविधालाई निरन्तरता दिइने भएको छ ।
स्वास्थ्य बीमा कार्यक्रमका लागि रु.१० अर्ब विनियोजन गरेको साथै, हालसम्म बाँकी रहेको भुक्तानी दावी रकम तेस्रो पक्षबाट परीक्षण गराई यसै आर्थिक वर्षमा फरफारक गर्ने व्यवस्था मिलाएको पनि मन्त्री पौडेलले बताए ।
Comments are closed, but trackbacks and pingbacks are open.