Nepal's Trusted Health Online Portal

एक करोड महिला तथा बालिकाले मानवीय सहायतामा पहुँच गुमाएको संयुक्त राष्ट्रसङ्घद्वारा जानकारी

Get real time updates directly on you device, subscribe now.

२६ असार, जेनेभा । सन् २०२५ जनवरी भन्दापछि विदेशी सहायता खर्चमा भएको ठूलो कटौतीका कारण कम्तीमा एक करोड महिला र बालिकाले अत्यावश्यक मानवीय सहायतामा पहुँच गुमाएका संयुक्त राष्ट्रसङ्घले शुक्रबार चेतावनी दिएको छ ।

एउटा नयाँ रिपोर्टमा युन वुमेनले आवश्यकता बढिरहेको बेला महिला सङ्गठन खारेज भएकोमा दुख व्यक्त गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष पदभार ग्रहण गरेपछि विदेशी सहायतामा कटौती गर्नुभएको छ भने अन्य प्रमुख दाता देशले पनि आफ्नो खर्च घटाएका छन् । “संसारका सबैभन्दा गम्भीर मानवीय सङ्कटको अग्रपंक्तिमा रहेका महिला सङ्गठन बन्द हुने जोखिममा छन्,” युन वुमेनकी मानवीय सहायता प्रमुख सोफिया काल्टोर्पले एक विज्ञप्तिमा भन्नुभएको छ ।

उहाँले भन्नुभयो, “महिला सङ्गठनबाट हटाइएको प्रत्येक डलर भनेको द्वन्द्वसम्बन्धी यौनिक हिंसाका पीडित, विस्थापित आमा, विद्यालयबाट बाहिरिन बाध्य बालिका र बाँच्न सङ्घर्ष गरिरहेका समुदायबाट हटाइएको डलर हो ।” संयुक्त राष्ट्रसङ्घका अनुसार विश्वभर सशस्त्र द्वन्द्व दोस्रो विश्वयुद्ध यताकै उच्च स्तरमा रहेको यो समयमा करिब १२ करोड महिला र बालिकालाई मानवीय सहायता र संरक्षणको आवश्यकता छ ।

सङ्कटग्रस्त विभिन्न ५२ वटा देशका ८५५ महिला नेतृत्वका तथा महिला अधिकार सङ्गठनबाट प्राप्त जवाफमा आधारित यो रिपोर्टले देखाएको छ कि ८४ प्रतिशत समूहले सन् २०२५ जनवरी यता आफ्ना सेवाको माग बढेको अनुभव गरेका छन् । “लगभग ९० प्रतिशतले उनीले हालको आवश्यकता पूरा गर्न नसक्ने बताउँछन्,” एजेन्सीले भनेको छ, “सर्वेक्षण गरिएका मध्ये दुईमा एक (४० प्रतिशत) सङ्गठनले आगामी एक वर्षभित्र अस्थायी वा स्थायीरूपमा बन्द हुने अपेक्षा गरेका छन् ।”

यी सङ्गठनलाई जोगाउनका लागि नेतृत्व र कर्मचारीले आफ्नै श्रम र स्वास्थ्यको मूल्य चुकाइरहेका छन् । पूर्ण ६५ प्रतिशत महिला नेतृत्वका सङ्गठनले सेवाहरू सञ्चालन गर्न कर्मचारी बिना तलब काम गरिरहेको रिपोर्ट गरेका छन् भने लगभग आधाले कर्मचारीमा बढ्दो थकान रिपोर्ट गरेका छन् । युन वुमेनको विज्ञप्तिमा भनिएको छ, “सन् २०२५ मा पीडितलाई संरक्षण गर्ने प्रणाली भत्किरहेको बेला द्वन्द्वसम्बन्धी यौनिक हिंसा दोब्बर बढेको छ ।”

झण्डै ८६ प्रतिशत महिला सङ्गठनले आफूले सेवा गरिरहेका समुदायमा लैङ्गिक हिंसा बढेको रिपोर्ट गरेका बताइएको छ । यो सङ्गठनले सहायता कटौतीले विनाशकारी परिणाम ल्याइरहेकोमा जोड दिएको छ । “हिंसाबाट आश्रय खोजिरहेको महिला बन्द भएको आश्रय केन्द्रको ढोकामा पुग्न सक्छिन्; गर्भवती महिलालाई स्वास्थ्य क्लिनिक पुग्न घण्टौं हिँड्नुपर्ने हुन सक्छ; वा आमाले आफ्ना बच्चाहरूलाई खाना दिन अस्वीकार गर्नुपर्ने हुन सक्छ,” सङ्गठनले भनेको छ ।

यी कटौतीको प्रभाव केवल मानवीय प्रतिक्रियालाई कमजोर पार्नेमा मात्र सीमित नहुने सङ्गठनले जोड दिएको छ । “महिला सङ्गठनको विघटन कुनै खाली ठाउँमा होइन, बरु महिला र बालिकाको अधिकारमाथि विश्वव्यापी प्रतिक्रियावादको बिरुद्धमा भइरहेको छ,” यसले भनेको छ । हरेक पाँचमा एक (२० प्रतिशत) सङ्गठनले महिला नेतृत्व र लैङ्गिक समानता अघि बढाउने काम पहिले नै स्थगित गरेका छन् भने आधाभन्दा बढीले समुदायको नेतृत्व र स्थानीय निर्णय प्रक्रियामा महिलाको सहभागिता घट्दै गएको देखेको सङ्गठनको दावी छ । रासस/एएफपी 

Get real time updates directly on you device, subscribe now.

Comments are closed, but trackbacks and pingbacks are open.