११ जेठ, काठमाडौं । नेपालमा आइतबार दिउँसो थप १९ जना कोरोना भाइरस (कोभिड–१९) को संक्रमित थपिएका छन् ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षण अनुसार मोरङ बारदेशी–०३ का ४५ बर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षण अनुसार बारा कलैयाका ३२ बर्षीय पुरुष, पर्सा वीरगञ्जका २५ बर्षीय पुरुष, पर्सा घर ठेगाना भई बारामा कार्यरत ३४ बर्षीय पुरुष, पर्साकै नागवाका ६० बर्षीय पुरुष, रौतहट स्थायी घर भई बारा कलैयामा कार्यरत ३२ बर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ ।
सर्लाही हरीपुर–६ का ४८ बर्षीय पुरुष, रुपन्देही सम्मारीमाई–०५ का ४० र ५० बर्षीय पुरुषहरु, रुपन्देही–०१ का ३२ बर्षीय पुरुष, काठमाडौं सोह्रखुट्टेका ७९ बर्षीय पुरुष र नुवाकोट ककनीका ३९ बर्षीय पुरुषमा पनि कोरोनाको संक्रमण पाइएको छ । नुवाकोटमा आज पहिलो पटक संक्रमण देखिएको हो ।
त्यसैगरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परिक्षण अनुसार रुपन्देही गैडहवा गाउँपालिकाका २३, ३० र ४० बर्षीय तीन जना पुरुषहरुमा संक्रमण पुष्टि भएको छ । त्यस्तै कपिलवस्तु खैराती–०३ का ३५, ३७ र ५२ बर्षीय तीन जना पुरुषहरुमा पनि संक्रमण देखिएको छ । गुल्मी मदाने गाउँपालिकाका ३१ बर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाका अनुसार नेपालका कुल ४२ जिल्लाका ५२४ पुरुष र ७९ जना महिलाहरुमा कोरोना भाइरसको संक्रमण भएको छ ।
संक्रमितहरु सबै जना अहिले स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिएका छन् ।
यससँगै नेपालभर कोरोना संक्रमितको संख्या ६०३ पुगेको छ । संक्रमितमध्ये ८७ जना निको भएका छन् । ३ जना संक्रमितको ज्यान गएको छ । अन्य संक्रमितहरु सबै उपचाररत रहेका छन् ।