जेठ ११, काठमाडौं । कोरोेना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रण बाहिर जान थालेपछि बाँकेको नरैनापुरलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।
बाँके जिल्ला सुरक्षा समितिको बैठकले आइतबार राति ८ बजेबाट लागु हुने गरी निषेधित क्षेत्र घोषणा गरेको छ । बैठकले नरैनापुरमा घोषणा गरिएको निषेधित क्षेत्रलाई प्रभावकारी कार्यान्वयन गराउन सेना परिचालन गर्ने निर्णय गरेको छ ।
नरैनापुरमा ११४ जनामा कोरोना भाइरसको संक्रमण भएको छ भने १ जनाको ज्यान नै गइसकेको छ । कोरोनाको संक्रमण समुदायस्तरमा फैलिने सम्भावना रहेको र बाँकेको अस्पतालबाटै संक्रमित भाग्न थालेपछि स्थिति नियन्त्रण बाहिर गएको भन्दै नरैनापुर गाउँपालिकाले सेना परिचालन गर्न माग गरेको थियो ।