२९ माघ, काठमाडौँ । आन्दोलनरत चिकित्सक र सरकारबीच ६ बुँदे सहमति भएको छ । सरकारी वार्ता टोलीसँगको सहमतिसँगै चिकित्सकहरूले संषर्षका सबै कार्यक्रम स्थगित गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गणेशप्रसाद पाण्डेय र नेपाल चिकित्सक संघका अध्यक्ष डा.लोचन कार्की संयोजक रहेको वार्ता टोलीबीच आन्दोलन स्थगित गर्नेसहितको सहमति भएको हो ।
वार्ता टोलीबीच घाइते चिकित्सकको उपचार व्यवस्था सरकारले मिलाउने, चिकित्सकमाथि कुटपिट गर्ने निलम्बित सुरक्षाकर्मीमाथिको छानबिन एक साताभित्र सम्पन्न गरेर दोषी भए कारबाही गर्ने सहमति भएको छ ।
सरकारसँग भएको सहमतिमा ‘विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७’ मा गर्नुपर्ने परिमार्जनबारे एक साताभित्र सुझाव पेश गर्ने पनि सहमति गरिएको छ ।
त्यस्तै स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (संशोधनसहित) ऐन, २०६६ बमोजिम स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्ने तथा स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको सुरक्षालाई थप प्रभावकारी बनाउन आवश्यक व्यवस्था गर्ने सहमति भएको छ ।