२७ कात्तिक, काठमाडौं । औषधि व्यवस्था विभागले दुई नेपाली कम्पनिले उत्पादन गर्ने औषधिको विक्रि–वितरणमा रोक लगाएको छ ।
विभागले बायोजेन रिमिडिज प्रा.लि. र लोमस फर्मास्युटिकल्स प्रा.लि.ले उत्पादन गरेको औषधि न्युन गुणस्तरको भएको भन्दै बजारबाट फिर्ता गर्न निर्देशन दिएको हो ।
विभागले एक सूचना जारी गरी बायोजेन रिमिडिजले उत्पादन गरेको बायोकल–डी (क्याल्सियम कार्बोनेट एण्ड भिटामिन डी थ्री ट्याबलेट्स बीपि) र लोमस फर्मास्युटिकल्सले उत्पादन गरेको एसभीट (भिटामिन सी ट्याबलेट्स आइपी) न्युन गुणस्तरको भएको जनाएको छ ।
विभागले बजार अनुगमनका क्रममा संकलन गरिएका औषधिका नमुना परीक्षणका क्रममा न्युन गुणस्तरको पाइएकोले औषधि ऐन २०३५ को दफा १४ बमोजिम विक्रि–वितरण रोक्का गरी बजारबाट तुरुन्त फिर्ता गर्न र सो को विवरण विभागमा पेश गर्न सम्बन्धित उद्योगलाई निर्देशन दिइएको जनाएको छ ।
उक्त औषधिहरुको सिफारिस, विक्रि–वितरण र प्रयोग नगर्न नगराउन पनि विभागले सम्बन्धित सबैलाई अनुरोध गरेको छ ।
औषधि व्यवस्था विभागले विभिन्न समयमा बजारमा विक्रि–वितरण भइरहेका औषधिहरुको अनुगमन गर्ने गरेको छ । अनुगमनका क्रममा यसअघि पनि विभिन्न औषधिहरु गुणस्तरहीन पाइने गरेका छन् ।
औषधि व्यवस्था विभागले जारी गरेको सूचनाः
