Nepal's Trusted Health Online Portal

स्वास्थ्य बीमा सुधार सुझाव प्रतिवेदन कार्यान्वयनमा साथ दिने प्रधानमन्त्रीको प्रतिबद्धता

Get real time updates directly on you device, subscribe now.

६ माघ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदन कार्यान्वयनका लागि सकारात्मक प्रतिबद्धता जनाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलसहित कार्यदलका संयोजक सम्भु आचार्य तथा सदस्यहरु डा. रघुराज काफ्ले, डा. भगवान कोइराला तथा सदस्य सचिव सरोज शर्मासँग प्रतिवेदनको प्राप्तिबारे जानकारी लिंदै प्रधानमन्त्री ओलीले कार्ययोजनाका साथ आउन आग्रह गरे ।

‘एक साताभित्र कार्ययोजना लिएर आउनुहोला,’ प्रधानमन्त्री ओलीले भने । प्रधानमन्त्री ओलीले प्रतिवेदन कार्यान्वयनमा आफ्नो साथ रहने बताए ।

भेटमा सहभागी स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले प्रधानमन्त्रीको सकारात्मक प्रतिक्रिया प्राप्त भएको बताए । ‘प्रधानमन्त्रीज्यूले सकारात्मक प्रतिक्रिया दिनुभएको छ,’ उनले भने, ‘हामी कार्ययोजनासहित पुनः प्रस्तुत हुनेछौं ।’

मन्त्री पौडेलले एक साताभित्र प्रतिवेदन सार्वजनिक गर्ने र सरकारले मुख्य सुझाव पनि कार्यान्वयनमा लैजाने प्रक्रिया अघि बढाउने बताए ।

स्वास्थ्य बीमामा नागरिक पहुँच अभिवृद्धि गर्न र सेवा स्तरीय दिनका लागि सुझाव दिन भन्दै विश्व स्वास्थ्य संगठनका पूर्व उच्च अधिकारी डा. आचार्यको नेतृत्वमा मन्त्री पौडेलले सुझाव कार्यदल गठन गरेका थिए ।

प्रतिवेदनमा उठाइएका विषयको कार्यान्वयन ढाँचाबारे अहिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अध्ययन गरिरहेको छ ।

मन्त्री पौडेलले नीतिगत सुधार, सेवाको गुणस्तर सुधार तथा श्रोतको वृद्धिमा जोड दिंदै आएका छन् । श्रोत पर्याप्त नहुँदा तथा विगतको भुक्तानी ढिलाइ हुँदा स्वास्थ्य बीमा बोर्डले अस्पतालहरुको बक्यौता रकम भुक्तानी गर्न कठिनाइ भोग्दै आइरहेको छ । श्रोत वृद्धि तथा सरकारी निकायबाट छरिएको स्वास्थ्य उपचार राहतसम्बन्धी सेवा तथा बीमा कार्यक्रम एकीकृत गर्न सकिएमा आफूले घोषणा गरेको पाँच लाख बीमा सम्भव हुने मन्त्री पौडेलले बताउँदै आएका छन् ।

Get real time updates directly on you device, subscribe now.

Comments are closed, but trackbacks and pingbacks are open.