Nepal's Trusted Health Online Portal

डेंगी नियन्त्रणका लागि स्वास्थ्यमन्त्री पौडेलले डाके उपत्यकाका मेयरहरुको बैठक

Get real time updates directly on you device, subscribe now.

३१ साउन, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले काठमाडौं उपत्यकामा डेंगी रोकथामका लागि काठमाडौं उपत्यकाका स्थानीय तहहरुबीच बैठक डाकेका छन् । उपत्यकाका काठमाडौं, भक्तपुर तथा ललितपुरमा डेंगी संक्रमणका घटना वृद्धि भएर महामारीको रुप लिन सक्ने जोखिम देखिए पछि नियन्त्रणका लागि आवश्यक सहकार्य गर्न भन्दै मन्त्री पौडेलले उपत्यकाका महानगर, उपमहानगर तथा नगरपालिका सदस्य रहेको फोरमलाई बोलाएका हुन् ।

बैठकमा बोल्दै मन्त्री पौडेलले मिलेर काम गरे निन्त्रण गर्न सकिने भन्दै मन्त्रालय नीतिगत निर्णय र थप सहकार्यका लागि तयार रहेको बताए । उपत्यकामा डेंगी नियन्त्रणलाई हामीले प्राथमिकतामा राखेका छौं, उनले भने, आम नागरिकलाई जोगाउन सहकार्य जरुरी छ ।

साउनदेखि फैलिएको डेंगी भदौ र असोजमा थप फैलनसक्ने जोखिम रहेको विज्ञहरुको भनाई उद्दृद्ध गर्दै मन्त्री पौडेलले यसलाई भयावह बन्न नदिन स्थानीय तहबाट साथ र सहकार्यको उद्देश्य राखेको बताए । उनले सरसफाईको कमीका कारण संक्रमण फैलने देखिएको भन्दै मन्त्रालयले देशैभर सातामा एक दिन एकै समयमा सफाइ गर्न लागेको भन्दै स्थानीय तह र प्रदेशबाट समेत साथ मिलेमा देशैभर सफाइ अभियान थालिने बताए ।

हल मन्त्रालयले डेंगी जोखिमलाई ध्यानमा राखेर सातै प्रदेशका अस्पतालमा बेग्लै डेस्क राखेर उपचार थालेको मन्त्री पौडेलले जानकारी दिए । अब उपचारसँगै फैलन नदिन पहल आवश्यक परेको भन्दै मन्त्री पौडेलले वडा तहसम्म सचेतना विस्तार गरेर डेंगीसँगै हैजासमेत नियन्त्रण गर्न आग्रह गरे । मन्त्रालय यसका लागि स्थानीय तहलाई हरसम्भव साथ दिने पनि उनले प्रतिबद्धता जनाए ।

मन्त्रालयका अतिरिक्त सचिव दीपेन्द्ररमण सिंहले जमेको पानीमात्र कम गर्न सकिए पनि धेरै क्षति नियन्त्रण गर्न सकिने भन्दै एकै दिन देशैभर सफाइ अभियान सञ्चालन गर्न सकिने बताए ।

कार्यक्रममा सहभागी संघीय राजधानी उपत्यकाको काठमाडौं, भक्तपुर तथा ललितपुरका स्थानीय तहका प्रमुख तथा उपप्रमुखले आफ्ना तर्फबाट भएका प्रयासहरुको जानकारी गराउँदै डेगी तथा हैजा नियन्त्रणमा हातेमालो गर्न तयार रहेको प्रतिबद्धता जनाए । यसैगरी गाउँपालिका तथा नगरपालिका महासंघका प्रतिनिधिहरुले पनि एक अर्का एक्ला एक्लै काम गर्ने प्रवृत्ति रहेको भन्दै सहकार्य गर्ने मन्त्रालयको प्रस्ताव सकारात्मक रहेको बताए ।

‘हामीलाई पहिलो पटक मन्त्रालयले महामारी नियन्त्रणको छलफलमा सम्झेको छ,’ नागार्जुन नगरपालिकाकी उपप्रमुख सुशीला अधिकारीले भनिन्, ‘हामी डेंगी नियन्त्रणमा सहकार्य गर्न तयार छौं ।’

स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुले खानेपानीको गुणस्तर नपुर्याउनेलाई कारबाही गर्न तथा निजी अस्पतालहरुबाट तथ्यांकमा सहयोग नमिलेको भन्दै सघाउन मन्त्रालयलाई आग्रह गरे । ललितपुर महानगरले सरसफाइमा जोड दिइएको बताएको छ भने काठमाडौं महानगरले हरेक साता लामखुट्टेको खोजी तथा नियन्त्रण कार्यलाई गति दिइरहेको बताएको छ ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले सचेतना, नियन्त्रण र सरसफाइका लागि सहकार्य गर्न कार्य गरिएको बताए ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.