Nepal's Trusted Health Online Portal

इन्टर्न चिकित्सकलाई प्रदान गरिने भत्तामा एकरुपता कायम गर्न चिकित्सक संघको माग

Get real time updates directly on you device, subscribe now.

३१ असार, काठमाडौं । नेपाल चिकित्सक संघले इन्टर्न चिकित्सकहरुलाई प्रदान गरिने भत्तामा एकरुपता कायम गर्न सरकारसँग माग गरेको छ ।

बुधबार एक विज्ञप्ति जारी गर्दै नेपालभरका एमबीबीएस तथा बीडीएस अध्ययनरत इन्टर्न चिकित्सकहरुद्वारा विभिन्न माग राखी गरिएको आन्दोलनप्रति संघको ध्यानाकर्षण भएको जनाएको छ ।

इन्टर्न चिकित्सकहरु अत्याधिक तनावका बावजूद अहोरात्र सेवामा खटिनुपर्ने अवस्थामा पनि उनीहरुलाई प्रदान गरिने भत्तामा समेत एकरुपता नहुनु अन्याय भएको संघको भनाई छ ।

‘नेपालका एमबीबीएस तथा बीडीएस अध्ययनरत इन्टर्न चिकित्सकहरु अत्याधिक तनावका बावजूद अहोरात्र सेवामा खटिनुपर्ने अवस्थामा उनीहरुलाई प्रदान गरिने भत्तामा समेत एकरुपता नहुनु र वैज्ञानिक ढंगले भत्ता वितरण नगरिनुले उनीहरुमाथि अन्याय भएको संघको ठहर छ ।’ संघका अध्यक्ष डा.बद्रि रिजाल र महासचिव डा.विश्व राज दवाडी हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

इन्टर्न चिकित्सकहरुको भत्तामा एकरुपता कायम गर्ने विषयमा नेपाल सरकारले कार्यदल गठन गरी प्रतिवेदन समेत तयार गरिसकेको भन्दै संघले हालसम्म कुनै औपचारिक निर्णय तथा सो को कार्यान्वयन नहुनु दुःखद रहेको उल्लेख गरेको छ ।

संघले इन्टर्न चिकित्सकहरुको जायज मागहरु अविलम्ब सम्बोधन गर्न र स्टाइपेन्डमा देशव्यापी एकरुपता कायम गर्न माग गरेको छ ।

‘इन्टर्न चिकित्सकहरुद्वारा अगाडी सारिएका जायज मागहरु अविलम्ब सम्बोधन गरी चिकित्सकहरुको स्टाइपेन्डमा देशव्यापी एकरुपता कायम गर्नका साथै यस विषयमा गठित कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्न नेपाल चिकित्सक संघ नेपाल सरकारसँग जोडदार माग गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।

एमबीबीएस तथा बीडीएस अध्ययनरत इन्टर्न चिकित्सकहरु विभिन्न माग राखेर आन्दोलित छन् ।

Get real time updates directly on you device, subscribe now.

Comments are closed, but trackbacks and pingbacks are open.