१२ भदौ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ८५७ जनालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमण केस ८ लाख ४० हजार ८०५ पुगेको छ ।
गत २४ घण्टामा ९ हजार ४०९ आरटी पीसीआर विधी र ३ हजार ७६७ एन्टिजेन गरी जम्मा १३ हजार १७६ नमुना परीक्षण गरिएकोमा १ हजार ८५७ नमुनाको नतिजा पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोनाका संक्रमितहरुमध्ये ४०.३४ प्रतिशत महिला र ५९.६६ प्रतिशत पुरुष रहेका छन् ।
पछिल्लो २४ घण्टामा देशभर २७ जना कोरोना संक्रमितको मृत्यु भएको रिपोर्ट प्राप्त भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १० हजार ६९० पुगेकोे छ ।
त्यस्तै २ हजार २२२ जना कोरोना संक्रमण मुक्त भएका छन् । नेपालमा हालसम्म कोरोना संक्रमण मुक्त भएका केस ७ लाख १० हजार ४५२ छ । संक्रमितमध्ये ९३.७ प्रतिशत संक्रमणमुक्त भएका हुन् ।