काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारद्धारा स्थापित कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषका लागि २ महिनाको तलब प्रदान गर्ने भएकी छन् ।
यसअघि सरकारले कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारका लागि ५० करोड रुपैयाँ सहितको कोष स्थापना गरेको थियो । उक्त कोषमा सरकारका मन्त्रीहरुले १ महिना बराबरको तलब प्रदान गर्ने घोषणा गरेका थिए ।
राष्ट्रपति कार्यालयले विज्ञप्ति मार्फत राष्ट्रपति भण्डारीले २ महिनाको तलव प्रदान गर्न लागेको जनाएको छ । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरे हस्ताक्षरित विज्ञप्तिमा राष्ट्रपति भण्डारीले सरकारद्धारा स्थापित कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषका लागि आफ्नो २ महिनाको पारिश्रमिक प्रदान गर्न लागेको व्यहोरा उल्लेख गरिएको छ ।
