काठमाडौं । सरकारले मंगलबार देखी एक साताका लागि देशलाई पूर्णरुपमा लकडाउन गर्ने निर्णय गरेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा बनेकोे कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको सोमबार बसेको बैठकले चैत ११ गते बिहान ६ बजे देखि चैत १८ गते बिहान ६ बजे सम्म लागु हुने गरी लकडाउन सहितको आठ बुँदे निर्णय गरेको हो ।
सोमबार एकजनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टी भएसंगै सरकारले मंगलबार देखी लकडाउनको निर्णय लिएको हो ।
सरकारले औषधी उपचार, खाद्यवस्तु खरिद लगायत अत्यावस्यक काम बाहेक कुनै पनि व्यक्ति घरबाहिर ननिस्कन आदेश जारी गरेको छ । त्यस्तै अनुमति प्राप्त सवारी साधन, स्वास्थ्यकर्मी र सुरक्षा निकायले प्रयोग गर्ने बाहेक सबै प्रकारका सार्वजनिक वा निजि यात्रुवाहक सवारी साधन चलाउन पूर्ण रुपमा रोक लगाएको छ ।
सुरक्षा निकायबाट प्रयोग हुने वायुयान र तोकिएका अन्य उडानहरुबाहेक अन्य सबै आन्तरिक तथा व्यवसायिक उडानहरु बन्द गर्ने निर्णय पनि गरिएको छ ।
समितिको बैठकले स्वास्थ्य सुरक्षा, खाद्यवस्तु, खानेपानी, दुध, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापनजस्ता अति आवश्यक सेवाबाहेक अन्य कार्यालय सञ्चालनको लागि आवश्यक पर्ने कर्मचारीहरु मात्र उपश्थित हुने व्यवस्था गरी अन्य कर्मचारीहरुलाई आवश्यक परेको बखत तत्काल उपश्थित हुने गरी सम्बन्धित कार्यालय प्रमुखले विदा दिने निर्णय गरेको छ ।
त्यस्तै बैठकले व्यवसायीहरुलाई औषधी र औषधीजन्य सामग्रीहरुको नियमित आपूर्तिको व्यवस्था गर्न निर्देशन दिँदै अभाव देखाई मुल्य वृद्धि गर्ने वा कालोबजारी, जम्माखोरी गर्ने वा लुकाउने वा आपूर्तिमा अवरोध गर्ने व्यक्तिलाई प्रचलित कानुन बमोजिम नियन्त्रणमा लिने, सामग्री जफत गरी रोगको रोकथाम र उपचारको कार्यमा उपयोग गर्ने जस्ता निर्णय गरेको छ ।
बैठकका निर्णयहरु पढ्नुहोस्ः COVID-19-2076.12.10