अमेरिकाको न्यूयोर्क राज्यमा एक नेपालीको कोरोना भाइरस संक्रमणको कारण मृत्यु भएको छ । नेपालमा पाँचथर रानीगाउँ घर भएका ५० बर्षीय अनिल लिम्बुको कोरोना भाइसको संक्रमणले मृत्यु भएको हो ।
लिम्बु न्यूयोर्कको कुइन्सस्थित ज्याक्सनहाइटमा बस्दै आएका थिए । उनि करिब २० बर्ष देखी अमेरिकामा बसोबास गर्दै आएका हुन् ।
मधुमेह र ब्लडप्रेसरबाट पिडित लिम्बु करिब साता दिन अघि ज्वरो आएपछि अस्पताल पुगेका थिए । अस्पताल भर्ना गरी परीक्षण पश्चात कोरोना भाइरस (कोभिड १९) को संक्रमण पोजेटिभ देखिएको थियो । उनको परिवारका अन्य सदस्यहरुमा पनि कोरोना भाइरसको संक्रमण भेटिएको छ । परिवारका सदस्यहरु घरमै आइसोलेसनमा बसिरहेका छन् ।
जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनेन्द्र नेम्वाङ्ले लिम्बुको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टी गर्दै नेपाली समुदायबाट एकजनालाई गुमाउनु परेकोमा दुख लागेको बताएका छन् ।