२३ असार, काठमाडौं । नेपालमा मंगलबार थप २०४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
योसँगै नेपालभर कोरोना संक्रमितको संख्या १६ हजार १६८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् ।
६ हजार १३३ जनाको कोरोना परीक्षण
विगत २४ घण्टामा ४ हजार ७२१ जनाको पिसिआर विधिबाट कोरोना भाइरसको परीक्षणको भएको छ । हालसम्म २ लाख ६१ हजार ८६१ जनाको पिसिआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै २५ हजार ७२७ जना क्वारेन्टिनमा रहेका छन् भने ८ हजार ६३४ जना संक्रमितहरु आइसोलेसनमा रहेका छन् ।
६८८ जना निको भए
पछिल्लो २४ घण्टामा ६८८ जना संक्रमित उपचारपछि डिस्चार्ज भएको प्रवक्ता डा.गौतमले जानकारी दिए । संक्रमितमध्ये अहिलेसम्म ७ हजार ४९९ जना निको भएर घर फर्किइसकेका छन् । कुल संक्रमितमध्ये ४६.४ प्रतिशत संक्रमण मुक्त भएका हुन् ।
४ जिल्ला कोरोना मुक्त
मन्त्रालयले दिएको विवरण अनुसार ४ ओटा जिल्ला कोरोना संक्रमण मुक्त भएको छ । प्रदेश नं.१ को तेह्रथुम, भोजपुर र सोलुखुम्बु सहित कर्णाली प्रदेशको हुम्ला जिल्ला कोरोना भाइरसको संक्रमण मुक्त भएको हो ।